३१ आश्विन २०८३, शनिबार

औषधि आयात बन्द र बिलिङ नकाट्ने निर्णय स्थगित, संयुक्त आन्दोलनको तयारी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेपाल औषधि आयातकर्ता संघले औषधि आयात र बिलिङ ठप्प पार्ने निर्णयलाई पुनःविचार गरेको छ ।

सरकारले विभिन्न ३४ प्रकारका औषधि विदेशबाट आयात गर्न रोक लगाएपछि आन्दोलनमा उत्रिएको संघले केही दिन अगाडि विरोध स्वरुप जेठ ७ गते आइतबारदेखि औषधि आयात नगर्ने र बिलिङ पनि रोक्ने चेतावनी दिएको थियो ।

तर, संघले सर्वसाधारणको स्वास्थ्यप्रतिको जिम्मेवारीबोध, औषधि बिक्रेतासम्बन्धित विभिन्न संघ/संगठनहरूको आग्रहमा जेठ ८ गतेदेखि औषधि आयात रोक्ने तथा बिलिङ नकाट्ने आन्दोलनलाई तत्कालका लागि स्थगित गरेको हो । संघका महासचिव पवन आचार्यले भने, ‘सरकार गैर जिम्मेवार भयो भन्दै हामी औषधि आयातकर्ताहरू गैर जिम्मेवार बन्न सक्दैनन् । बिरामीहरूको स्वास्थ्यका साथै औषधि व्यवसायसँग सम्बन्धित संघ/संगठनहरूको आग्रहलाई ध्यानमा राखेर औषधि आयात रोक्ने र बिलिङ नकाट्ने आन्दोलनलाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छौं ।’

औषधि व्यवस्था विभागले मन्त्रिस्तरीय निर्णयभन्दै ३४ प्रकारका औषधि मात्रै विदेशबाट आयातमा रोक लगाएपछि नेपाल औषधि आयातकर्ता संघ बिरोधमा उत्रिएको थियो । संघको आन्दोलनलाई सुरुमा केही संघसंस्थाले आलोचना गरेपनि पछिल्लो समयमा औषधि आयात रोक्ने सरकारी निर्णयको भित्री अनियमितता थाहा पाएपछि आन्दोलनको समर्थनमा उत्रिएका छन् ।

सरकारले लगत निर्णय गरेर समस्या बनाउन थालेपछि औषधि व्यवसायीसहितका विभिन्न संघ संगठनहरूले संयुक्त आन्दोलनको तयारी समेत थालेका छन् ।

यसरी औषधि आयातकर्ता संघको आन्दोलनमा समर्थन जनाउनेहरूमा नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन, नेपाल खाद्य, आयुर्वेदिक न्यट्राफर्मास्युटिकल तथा कस्मस्युटिकल समाज र नेपाल मेडिकल एण्ड सेल्स रिप्रजेन्टेटिम एसोसिएसन रहेका छन् ।

उता, नेपाल औषधि व्यवसायी संघले पनि सरकारको निर्णयको विरोध थालेको छ । यसअघि औषधि व्यवसायी संघले सरकारको निर्णयको बचाउ गरेको थियो । औषधि आयातमा सरकारले बन्देज लगाएपछि त्यसभित्रको खेल थाहा पाएपछि औषधि व्यवसायीहरू पनि बिरोधमा उत्रिएका हुन् ।

यी संगठनहरूले औषधिको आयात तत्काल नरोक्न र बिलिङ नकाट्ने निर्णयलाई स्थगित गर्न औषधि आयातकर्ता संघसँग आग्रह समेत गरेका छन् ।

व्यवसायीहरू आन्दोलनमा उत्रिदा समेत औषधि व्यवस्था विभाग र सरोकारवाला निकायले समस्याको समाधान खोज्नेतर्फ खासै कुनै चासो नदेखाएको आन्दोलनरत औषधि व्यवसायीहरूले जनाएका छन् ।

स्वदेशी सीमित औषधि व्यवसायीहरूको दबाबमा स्वास्थ्य मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरेर ३४ प्रकारका औषधि मात्रै आयातमा रोक लगाएको छ । यो निर्णयको चौतर्फी विरोध हुँदै आएको छ ।