काठमाडौं, १२ बैशाख । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपपछि करिब डेढसय पानी बोक्ने ट्यांकरहरुको पानी परीक्षण गरि स्टिकर प्रदान गरिएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग पानी ट्यांकरमा रहेको पानीको परीक्षण गरि स्टिकर प्रदान गर्ने कुराको प्रगती र अनुमतिको विषयमा जानकारी लिंदा बोर्डले सो कुरा बताएको हो ।
मन्त्री शाहीले अनुगमन र परीक्षणलाई प्रभावकारी बनाएर जनतालाई सहुलियतमा पानी उपलब्ध गराउने आफूहरुको दायित्व भएको भन्दै पानीको गुणस्तर र सुद्धतामा कसैसँग सम्झौता नगर्न खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएका छन् । उनले नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।
मन्त्री शाहीले पानी ट्यांकरहरुलाई व्यवस्थापन गर्न र जनतालाई सहज हुने गरि कानूनी प्रक्रियामा ल्याउन निर्देशन दिएपछि खानेपानी व्यवस्थापन बोर्डले बैशाख ५ गते देखि पानी बोक्ने ट्यांकरहरुमा अनिवार्य रुपमा स्टिकर प्रणाली लागू गरेको छ ।
ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परिक्षण हुन् नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको, सर्वसाधारणसँग जथावाभी मूल्य लिएको जनगुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको हो । ट्यांकरमा रहेको पानीको परीक्षण गरेर पानीको सुद्धता र गुणस्तरीयताको आधारमा ट्यांकरमा स्टिकर टाँसिन थालेको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी बोक्ने ट्यांकरहरुमा पानीको परीक्षण गरेर त्यसको सुद्धताको आधारमा निलो ,पहेलो र हरियो स्टिकर लगाएर प्रमाणित गर्छ । पानी बोक्ने ट्यांकरहरुले संचालन अनुमति लिनका लागि निवेदन हाल्दा अनिवार्य रुपमा पानीको स्रोत र स्थान खुलाउनुपर्ने हुन्छ । पानीको ट्यांकरहरुले दिएको निवेदनको आधारमा बोर्डले सम्बन्धित ठाउँमा गएर पानीको स्रोतमा परीक्षण गर्दछ ।
पानीको स्रोतमा गएर परीक्षण गरि बोर्डले स्टिकर दिएपछि मात्र ट्यांकरहरुले पानी भर्न पाउँछन् । ट्यांकरहरुले उक्त पानी कुन स्थानमा लगेर खसाल्न खोजेको हो त्यो कुराको समेत खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी दिनुपर्ने हुन्छ । बोर्डले त्यहि अनुसार पानी वितरण गर्ने ठाउँमा गएर पनि ट्यांकरमा रहेको पानीको परीक्षण गर्दछ ।
पानीको सुद्धता कायम राख्न र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन उक्त विधि अवलम्बन गर्न मन्त्री शाहीले निर्देशन दिएका छन् । गुणस्तर प्रमाणित नभई कुनै पनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन् । स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए तुरुन्त कारवाही हुन्छ मन्त्री शाहीले भने ।
स्टिकर प्रणालीमा समावेश नभएका पानीका ट्यांकरबाट पानी वितरण गरेको भेटिए खानेपानी मन्त्रालयको टोल फ्री नम्बर १६६००१४२१११ मा आम नागरिकले जानकारी गराए तत्काल कारवाही पक्रियामा ल्याइने मन्त्री शाहीले बताए ।
काठमाडौं खानेपानी व्यवस्थापन बोर्डसँग अनुमति लिन र पानीको परीक्षण गर्नका लागि करिब ३०० ट्यांकरले आवेदन दिएको बोर्डले मन्त्री शाहीलाई जानकारी गराएको छ ।
केहि समयभित्र आवेदन दिएका ट्यांकर र अन्य ५०० भन्दा बढीको संख्यामा रहेका ट्यांकरहरुलाई नियमित परीक्षण गर्ने बोर्डले बताएको छ । त्यसका लागि व्यवस्थापनको काम भैरहेको उसले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट संचालित ट्यांकरहरु भने पूर्ण रुपमा स्टिकर प्रणालीमा समावेश भैसकेका छन् । केयुकेएलका अधिकांश ट्यांकरहरुले निलो स्टिकर पाएका छन् ।
मन्त्री शाहीले ट्यांकरमा भएको पानीको गुणस्तर र सुद्धताको आधारमा स्टिकर प्रदान गरिने भन्दै स्टिकर हेरेर मात्र ट्यांकरको पानीको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
पानीको शुद्धताको आधारमा फिजिकल ,केमिकल र माइक्रोबाइलोजिकल तिनै हिसाबले उपयुक्त पानी भएको ट्यांकरलाई निलो स्टिकर प्रदान गरिन्छ । जुन पानी सिधै पिउन सकिन्छ । पानीको परीक्षण गर्दा फिजिकल र केमिकल मात्र मिलेको तर माइक्रोबाइलोजिकलको मात्र कम रहेछ भने त्यस्तो ट्यांकरलाई पहेलो स्टिकर प्रदान गरिने छ । पहेलो स्टिकर भएको पानी उमालेर खान मात्र मिल्छ । यस्तो पानी नउमाली खाए स्वास्थ्यमा समस्या देखिन सक्छ । यस्तो पानी पिउने बाहेक अन्य कामको लागि भने प्रयोग गर्न सकिन्छ ।
पानीको परीक्षण गर्दा माइक्रोबाइलोजीकलको हिसाबले उपयुक्त छ तर फिजोकल र केमिकलको हिसाबले उपयुक्त छैन भने त्यस्तो पानी भएको ट्यांकरलाई हरियो स्टिकर दिईन्छ । हरियो स्टिकर प्रयोग भएको ट्यांकरको पानी खान मिल्दैन । त्यो हात मुख,धुन र शरीर सफा गर्न त्यस्तै भान्सामा प्रयोग मात्र सकिन्छ ।
















प्रतिक्रिया