१ कार्तिक २०८३, आइतबार

‘मोष्ट वान्टेड’सँग हङकङ महावाणिज्यदूतको ‘खतरनाक कनेन्सन’

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ, २८ चैत । वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझा–सिधा युवतीहरूलाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने गिरोहका नाइके सुदर्शन थापा मगरसँग हङकङका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईको रहस्यमय कनेक्सन देखिएको छ ।

कांग्रेस निकट नेपाली जनसम्पर्क समिति मकाउको अध्यक्ष तथा एनआरएन मकाउका पूर्व अध्यक्ष सुदर्शन प्रहरीका मोष्ट वान्टेड व्यक्ति हुन् । उनलाई काठमाडौं जिल्ला अदालतले मानव वेचविखन तथा ओसारपसार मुद्दामा दोषी ठहर गरिसकेको छ ।

सुदर्शनसँग नेपाली महावाणिज्यदूत भट्टराईले डिनर गरेको तस्बिर सार्वजनिक भएपछि मकाउमा सुदर्शनबाट पीडित व्यक्तिहरू थप मर्कामा पर्ने प्रस्ट भएको नेपालीहरूले गुनासो गर्न थालेका छन् ।

‘पहिला हङकङमा कांग्रेसको कार्यक्रममा नेता प्रकाशमान सिह र सुदर्शनको समूहलाई निवासमै बोलाएर भट्टराईले डिनर दिएका थिए, अहिले ४ दिनअघि मात्र सुदर्शनले मकाउमा आफ्नै निवासमा भट्टराई र उनको परिवारलाई दुई दिन राखेर डिनर पार्टी दिनु भएको छ ।’

यसरी ‘पावर शो’ गरेर भट्टराईको संरक्षणमा गैरकानूनी हर्कत गर्न सुदर्शन फेरि हौसिएको मकाउबाट एक पीडितले बताए । ती पीडितका अनुसार मकाउमा बस्ने नेपालीले भिसा, पासपोर्टलगायतका कुनै पनि डकुमेन्ट बनाउँदा अब सुदर्शनलाई कमिसन बुझाएर मात्र कन्सुलरले काम गर्छन्, नत्र कसैको काम बन्दैन ।

मकाउमा नेपाली दूताबास नहुँदा त्यहाँ बस्ने नेपालीलाई कुनै समस्या परेमा हङकङ महावाणिज्य दूतावासमार्फत काम गर्नु पर्ने हुन्छ । त्यसका लागि सुदर्शनमार्फत काम गर्नु पर्ने भट्टराईले बाध्यता बनाएपछि सुदर्शनले त कमाउलान तर, नेपाली चेलीहरू बेचिने खतरा पनि बढेको पीडितहरूले सुनाएका छन् ।

नेपाल सरकारले पठाएका कर्मचारी नै युवती बेच्ने गिरोहका नाइकेको प्रभावमा परेर काम गर्न थालेपछि हङकङ र मकाउमा पैसा र च्यानल नभएका नेपालीहरूले झनै हैरानी खेप्नु पर्ने भएको छ ।

अपराधको धन्दाबाट जोगिन सुदर्शनले महावाणिज्यदूत भट्टराईलाई घरमा नै बोलाएर डिनर दिई आफू निर्दोष देखाउन खोजेको सहभागी एक व्यक्तिले बताए । जसका बारेमा मकाउमा बिरोध सुरु भैसकेको छ ।

यसअघि पनि सुदर्शनले आयोजना गरेको नेपाली जन–सम्पर्क समिति मकाउको तेस्रो वार्षिकोत्सब कार्यक्रममा कांग्रेस सांसद तथा केन्द्रीय
सदस्य धनराज गुरुङ, केन्द्रय सदस्य विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, सांसद राजु थापा, कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीलगायतले सहभागिता जनाउँदा मकाउमा उनीहरूको ठूलो बिरोध भएको थियो ।

यसरी खुलेको थियो सुदर्शनको पोल

सांस्कृतिक कार्यक्रमका लागि भन्दै १४ दिनको टुरिष्ट भिसामा मकाउ पुगाइएकी स्याङ्जाकी सञ्जु थापालाई अपराध महाशाखा र एनआरएनको सहयोगमा उद्दार गरिएपछि सुदर्शनको असली धन्दा खुलेको थियो ।

वैदेशिक रोजगारीको शिलशिलामा सांस्कृतिक कार्यक्रम भन्दै पर्यटक भिसामा गएकी थापालाई महिनाको ५ हजार डलर तलव हुने लोभ देखाएर मकाउ पुगाइएको थियो । तर, उनलाई चिनियाँ व्यक्तिको घरमा बेचिएको खबर बाहिर आएपछि अपराध महाशाखाका तत्कालीन एसएसपी सर्वेन्द्र खनालले मकाउमा रहेका नेपाली र संघसंस्थासँग समन्वय गरी उद्धार गरेका थिए ।

सञ्जुलाई उद्धार गरेको पर्सिपल्ट जब प्रहरीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पास रिक्रुइमेन्ट प्रालिका सञ्चालक सुवास थापाम गरलाई पक्राउ गर्यो, त्यसपछि यो प्रकरणमा मुछिए सुदर्शन थापा मगर ।

काठमाडौं जिल्ला अदालतले मकाउ पठाउने म्यानपावर कम्पनीका मालिक सुवास थापामगर, मकाउमा यौनहिंसा गर्ने सुवासका बाबु सुदर्शन थापामगर र मकाउमा चिनियाँलाई बेच्ने दलाल लोकराज बरालविरुद्ध कैद सजायको फैसला समेत गरिसकेको छ ।

उनीहरूमाथि प्रहरीले मानव वेचविखन तथा ओसारपसारमा मुद्दा चलाएको थियो ।