३१ आश्विन २०८३, शनिबार

सार्वजनिक खरिद ऐन नसच्याए सशक्त आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले व्यवसायी मैत्री ऐनको अभावमा व्यवसायीहरुले राज्यप्रति जिम्मेवार भएर काम गर्न नसकेको बताउनु भएको छ ।

मध्यमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघको १३ औं वार्षिक साधारण सभाको सोमबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष गौचनले राज्य व्यवसायीहरुका समस्याप्रति अनुदार रहेको टिप्पणी गर्नुभयो ।

मुलुकमा हुने जस्तोसुकै विकास निर्माणका काम गर्न स्वदेशी व्यवसायीहरु नै सक्षम रहेको भन्दै अध्यक्ष गौचनले भन्नुभयो– ‘विदेशी व्यवसाय गुहार्नु पर्ने कुनै आवश्यकता छैन ।’ राज्यले नै राम्रो काम गर्नेलाई पुरस्कृत तथा गलत काम गर्नेलाई दण्डित गर्ने हो भने निर्माण व्यवसाय समृद्ध हुने अध्यक्ष गौचनको भनाइ थियो ।

सार्वजनिक खरिद ऐन नसच्याए सशक्त प्रतिवाद गर्छाै

अध्यक्ष गौचनले सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन व्यवसायीहरु प्रतिकूल रहेको भन्दै तत्काल नसच्याए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी दिनुभयो ।

महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसाय समृद्ध नभए सम्म मुलुक समृद्ध हुन नसक्ने धारणा राख्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले प्रतिकूल ऐन नियमका कारण व्यवसायीहरु सधैं मारमा पर्ने गरेको बताउनुभयो ।

उपाध्यक्ष रुद्र शर्माले व्यवसायीहरुलाई दक्ष बनाउन राज्यकै तर्फबाट पहलकदमी हुनुपर्ने बताउनुभयो ।

महासचिव रामशरण देउजाले व्यवसायीमैत्री ऐन लागू गर्न व्यवसायीहरुबीचको एकता आवश्यक रहेको बताउनुभयो ।

मध्यमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष सुवित श्रेष्ठको अध्यक्षतमा भएको सभामा आफनो धारणा राख्दै उपमहासचिवद्धय विष्णु बुढाथोकी, सूर्यप्रसाद तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, ललितपुर निर्माण व्यवसायी संघका अध्यक्ष नमराज खड्का लगायतले व्यवसायीका समस्याहरुलाई राज्यले गम्भीर रुपमा नलिएको भनाइ राख्नु भएको थियो ।

साधारण सभामा १९ जिल्लाका निर्माण व्यवसायी सहभागी छन् ।