लन्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स (एसएनपी) युकेद्वारा नयाँ वर्ष २०७४ को अवसरमा दक्षिण पूर्वी लण्डनस्थित वेलिङमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
समाजका उपाध्यक्ष दीप गिरीले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गरे । प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर क्षेत्रीले जिन्दगीका दुःखसुःख, आरोह अवरोहहरु सबै एकै ठाउँमा बाँडन यस्ता उत्सवहरुको आफ्नै महत्व रहेको बताउँदै नेपाल र नेपालीको सामाजिक तथा आर्थिक विकासमा योगदान पुराउन ‘सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युके’ जस्ता संस्थाहरुले अगुवाइ गर्नुपर्ने बताए ।
उनले एउटा कवितामा एक बालकले आफ्ना बुवालाई हामी बेलायती हौं कि नेपालीरु भनी प्रश्न गरेको स्मरण गर्दै अब त्यस्ता प्रश्नहरुको साथै हाम्रो पोशाक, हाम्रा चाडपर्व आदिबारे हाम्रा छोराछोरीले सोध्ने प्रश्नहरुको जवाफ तयार पारेर राख्नु,पर्ने सुझाव पनि दिए ।
सो अवसरमा राजदूत सुवेदीले सोसाइटीको पहिलो मुखपत्रको अनावरण गर्नुकासाथै साहित्यकार धर्म सापकोटा राजुद्वारा लिखित कथा संग्रह “बहिर्गमन” को विमोचन पनि गरेका थिए ।
सो अवसरमा बोल्दै सापकोटाले उक्त पुस्तकको बिक्रीबाट प्राप्त रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्ने घोषणा गरे ।
समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले पहिले ‘हाइली स्कील्ड माइग्रेन्ट’ कार्यक्रममा बेलायत आएका नेपालीहरुमात्रै सदस्य रहेकोमा अहिले सबै पेशा र व्यवसायमा संलग्न नेपालीहरुकालागि सोसाइटीको ढोका खुल्ला रहेको बताए ।
अर्का सल्लाहकार भगीरथ योगीले बेलायतमा सिकेको सीप र अनुभव नेपालको विकासमा लगाउन सोसाइटीका सदस्यहरुलाई आग्रह गरे ।
कार्यक्रममा जीसीएसइ तथा ए लेभेल उत्तीर्ण गरेका सोसाइटीका सदस्यहरुका छोराछोरीहरुलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
सोसाइटीद्वारा आयोजित देउसी भैलो लगायत विभिन्न कार्यक्रमहरुमा सघाउने सहयोगी तथा शुभेच्छुकहरुलाई पनि सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष डा तेजेन्द्र फेरालीले नेपाली साँस्कृतिक पहिचानलाई जोगाउदै बेलायती समाजको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सफलता हासिल गर्दै लैजानेतर्फ अहिलेदेखि नै सोंच्न सोसाइटीका सदस्यहरु तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुलाई आह्वान गरे ।
उनले १५–२० वर्ष पछिको जीवनको परिकल्पना तथा तयारी आजबाटै गर्न जरुरी रहेको बताउँदै हाम्रा सन्तानहरुको पारिवारिक तथा सामाजिक जीवन कस्तो होला त्यसबारे पनि सोंच्नु पर्ने बेला आएको बताए ।
उनले बेलायतमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली पेशेवरहरुलाई समेटेर विधागत “नलेज बैङ्क” स्थापना गर्नसके त्यसबाट नेपालको विकासमा योगदान पुग्ने धारणा पनि राखे ।
सो अवसरमा राजदूत डा सुवेदी तथा सोसाइटीका अध्यक्ष डा। फेरालीले संयुक्तरुपमा केक काटी सबैलाई नेपाली नयाँ वर्षको उपलक्ष्यमा सुस्वास्थ्य, सुख तथा समुन्नतिको शुभकामना दिए थियो ।
समारोहको दोश्रो चरणमा सन्चालित सांस्कृतिक कार्यक्रममा विभिन्न कविहरुले आआफ्ना रचनाहरु पाठ गरेका थिए । बालबालिकाहरुले रमाइला गीत र नृत्य प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया