
नेदरल्याण्डस। एनआरएन नेदरल्याण्ड्सले गोरखा जिल्लामा विद्यालय भवन बनाउन आर्थिक सहयोग गरेको छ ।
एनआरएन नेदरल्याण्ड्सले १३ लाख ७४ हजार ४ सय ७४ रुपैंया आर्थिक सहयोग गर्ने गरी गोरखा जिल्लाको मान्बु गाविस वडा नम्बर ६ पोखरीचोकस्थित सिद्धार्थ बनस्थली निम्न माध्यमिक विद्यालयको दुई कोठे भवन निर्माण गरिदिन लागेको हो । भवन निर्माणका लागि एनआरएन नेदरल्याण्ड्सका वरिष्ठ उपाध्यक्ष केशवराज पाण्डे, उपाध्यक्ष महेन्द्र सुवेदी, उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भवन निर्माणका लागि पहिलो किस्ता स्वरुप ७ लाख १५ हजार रुपैंया प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष पाण्डेले जानकारी दिए । भूकम्पले क्षतिग्रस्त ग्रामीण क्षेत्रको सरकारी भवन निर्माणका लागि सहयोग गर्न पाउँदा गैरआवासीय नेपाली संघ नेदरल्याण्ड्स र नेदरल्याण्ड्समा रहेको नेपाली समुदाय निकै हर्षित भएको उनले बताए । आफूहरुलाई एनआरएनले दिएको जिम्मा अनुसार विद्यालय भवन निर्माणका लागि आवश्यक सम्पूर्ण सहयोग गरिरहेको उनले जानकारी दिए ।
भवन निर्माण कार्य जारी रहेकाले दोस्रो किस्ता बापतको रकम पनि यथाशिघ्र प्रदान गरिने र खाता संचालनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कोषाध्यक्ष र प्रधानाध्यापकको नाममा संयुक्त खाता खोलिएको एनआरएन नेदरल्याण्ड्सका कोषाध्यक्ष श्याम सापकोटाले जानकारी दिए ।















प्रतिक्रिया