काठमाडौंको फर्पिङस्थित डल्लुमा ‘सोलिड रक लज एण्ड रेष्टुरेन्ट रिसोर्ट’ खुलेको धेरै लामो समय भएको छैन । ७ महिना अगाडि खुलेको यो रिर्सोटले सुस्तसुस्त गति लिन थालेको छ । विदेशी नागरिकले लगानी गरेको यो रिसोर्टमा नेपाली र विदेशी दुबै पाहुनालाई ध्यानमा राखेर मेन्यू तयार पारिएको छ । थोरै पैसा हुने उपभोक्ताका लागि समेत ध्यान दिएर रिसोर्टको रेट कायम गरिएको छ । थोरै समयमा पनि यो रिसोर्टले नाम कमाएको छ । विशेष गरेर युवापुस्ताले रिसोर्टलाई रुचाएको छ । रिसोर्टमा नेपाली खानालाई नै विशेष ध्यान दिइएको छ ।
नेपालीहरूले मात्रै नभइ विदेशी नागरिकहरूले पनि होटेल, पर्यटनमा लगानी गरिरहेका छन् । विदेशीहरूको सानो लगानीले पनि राजस्वमा केही सहयोग पुग्ने देखिन्छ । नयाँ खोलिएको यो रिसोर्टमा साँझको समयमा विशेष मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि बेलाबेलामा हुने गरेका छन् । सोही रिसोर्टका विषयमा म्यानेजर मीना केसीसँग गरिएको कुराकानी :
० यो रिसोर्ट खुलेको कति भयो ?
– ७–८ महिना हुन लाग्यो । सुरुवाती चरणमा छौँ । धेरै कुरा अझै गर्न बाँकी छ । अहिलेसम्म सन्तुष्ट छौँ । रिसोर्टमा आउने ग्राहकहरूलाई सन्तुष्ट बनाएर पठाएका छौँ ।
० तपाईहरूको लक्षित समूह को हुन् ?
– यही हो भन्ने छैन । विशेष गरेर काठमाडौंको व्यस्त जीवनबाट थकान मारौँ भनेर आउन चाहने ग्राहकलाई ध्यानमा राखेर रिसोर्ट खोलिएको हो । विदेशी पर्यटक पनि आउने गरेका छन् । स्वदेशी ग्राहकहरू पनि आउने गर्नु भएको छ । प्राकृतिक वातावरणलाई विशेष ध्यान दिएर रिसोर्ट बनाइएको हो । प्रकृतिसँग रमाउन चाहने जो पनि हाम्रो लक्षित समूह हो ।
० स्वदेशी र विदेश नागरिकका लागि मूल्यको एकै खालको छ ?
– होइन । नेपालीहरूका लागि फरक रेट छ । विदेशीलाई नेपालीहरूर्लाइ भन्दा महँगो छ । तुलनात्मक रुपमा ठीकै छ ।
० तपाईहरूको रिसोर्टको क्षमता कति हो ?
– ६ वटा सुविधा सम्पन्न परम्परागत कोठाहरू छन् । एउटा कोठामा दुईजना बस्न मिल्छ । जंगलको हावापानीको आनन्द लिने गरेर कोठाहरू तयार पारिएका छन् ।
० खानाको विशेष परिकार के हो ? यो रेष्टुरेन्टमा केका लागि आउने ?
– हाम्रो विशेषता गाउँको परम्परागत खाना हो । हाम्रो रेष्टुरेन्टमा आएर खाने ग्राहकलाई आफ्नै घरमा खाना खाएको अनुभूति होस् भनेर ध्यान दिएका छौँ । ग्राहकको अडरअनुसारका सबै खाना बनाउने गरेका छौँ ।
० विदेशी पर्यटकहरू तपाईहरूको रिसोर्टमा कसरी आइपुग्छन् ?
– विभिन्न ट्राभल्सहरूसँग सहकार्य गरेका छौँ । हाम्रो आफ्नै वेबसाइट पनि छ । हामीसँग वेबसाइटमार्फत सिधै सम्पर्क गरेर पनि बुकिङ गरेर आउने गर्नुभएको छ ।
० रिसोर्टमा कति जग्गामा फैलिएको छ ? अहिलेसम्म कति लगानी भयो ?
– चार रोपानी जग्गा कम्पनीको नाममा छ । सबै भौतिक सामान रिसोर्टकै हो । दुई करोडभन्दा बढी लगानी भइसकेको छ । अरु लगानी हुने क्रममा छ । थुप्रै सुविधाहरू थप्दै छौँ ।
० रिसोर्ट त सानो ठाउँमा रहेछ ?
– काठमाडौं शहरको नजिकै धेरै जग्गा पाउनु नै ठूलो कुरा हो । जग्गा थप्दै जाने क्रममा छौँ । अरु व्यवस्थापन पनि हुँदैछ । अहिलेकै जग्गालाई व्यवस्थापन गर्दैछौँ ।
० यो रिसोर्टको कुनै खास लक्ष्य पनि छ कि ?
– राजधानीबासीलाई विदा वा अन्य दिन पिकनिकका लागि ठाउँ दिने पनि उद्देश्य हो । पिकनिकका लागि हामीसँग अत्यन्तै उपयुक्त ठाउँहरू छन् ।
० जंगलको नजिकै रिसोर्ट बनाउने क्रममा स्थानीयको अबरोध भएन ?
– सुरुमा केही अबरोध भएको थियो । तर, अहिले छैन । स्थानीय सबैले कुरा बुझ्नु भयो । अहिले त सहयोग नै गर्नु हुन्छ ।
० युवायुवतीहरूका लागि कुनै प्याकेज कार्यक्रम छन् ?
– डेटिङ कपलका लागि खानपान, बासलगायत सबै सुविधा छ । चाहेअनुसारको सबै सेवा सुविधा दिन सक्छौँ ।
० गोष्ठि, सेमिनारलगायतका कार्यक्रम गर्ने व्यवस्था के छ नि ?
– धेरै ठूला कार्यक्रम गर्न सकिएको छैन । तर, साना कार्यक्रम गर्न सकिन्छ । त्यसको पनि व्यवस्था छ ।
० रक क्लाइम्बिङ पनि गराउनु हुन्छ ?
– हो । हाम्रो रिसोर्टमा आउने ग्राहकहरूले रक क्लाइम्बिङमा इच्छा जनाउँदा त्यसको व्यवस्था गरिदिन्छौँ ।
० विदेशी नागरिकको लगानी रहेछ । काम गर्न कुनै कठिनाइ भयो कि ?
– छैन । लगानी जसको भए पनि राज्यको ऐन नियममा बसेर काम गर्ने हो । राज्यले तोकेको कर तिरेर नियमभित्र बसेर काम गर्दा कुनै समस्या हुँदैन ।















प्रतिक्रिया