१४ कार्तिक २०८३, शनिबार

यसकारण भ्रममा रमाउँदै छन् प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । कांग्रेससँग सरकार गठनका बेला आठ महिना अगाडि भएको सहमतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुल्न थालेका छन् । नेपाली कांग्रेसको काँधमा बसेर सत्तारोहण गरेका प्रचण्डलाई सत्तामोहले छाड्न नसकेपछि यस्तो अवस्था आएको हो ।

पूर्व सहमतिअनुसार प्रचण्डले चैतको २० गतेभित्र सत्ता हस्तान्तरण गर्नुपर्ने हो । कांग्रेस सभापति शेरबहादुर देउवाका कारण दोहो-याएर प्रधानमन्त्री बन्न पाएका प्रचण्डले गुण भुल्न थालेको आरोप छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार एमालेका तेस्रो तहका नेताहरूको उक्साहटमा लागेका प्रचण्डलाई कांग्रेसले छाड्ना साथ केपी ओलीको सहयोग पाउँछु भन्ने ठूलो भ्रम छ । ओलीले पनि तेस्रो तहका नेताहरू परिचालन गरेर प्रचण्डलाई उचालिरहेका छन् ।

स्रोतका अनुसार प्रचण्ड स्थानीय तहको निर्वाचन कार्डलाई प्रयोग गरेर दुई–चार दिन भएपनि सत्ता लम्बाउने योजनामा छन् । मधेसी मोर्चालाई सहमतिमा ल्याउने बहाना बनाएर प्रचण्ड स्थानीय तहको निर्वाचन नगर्ने मनस्थितिमा पुगेको स्रोतको भनाई छ । विशेष गरेर अहिले कांग्रेस र एमालेले मात्रै स्थानीय तहको निर्वाचन चाहेको देखिएको छ ।

प्रचण्ड र मधेसी मोर्चा आफ्नो साइज खुम्चने हो कि भनेर त्रासमा छन् । स्थानीय तहको निर्वाचनमा माओवादीले कतिपय स्थानमा उम्मेदवार नपाउने ठूलो खतरा छ । यो कुरा राम्रोसँग बुझेका प्रचण्डले कम्तिमा छ महिना चुनाव सार्न सकिन्छ कि भनेर भित्रभित्रै योजना बनाइरहेका छन् ।

यो कुरा चाल पाएका कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी पनि वैशाख ३१ गते चुनाव गराइ छाड्ने मनस्थितिमा पुगेका छन् । बरु आफूले सत्ता नपाएपनि स्थानीय तहको चुनाव वैशाख ३१ मै गराउने पक्षमा छन् । कांग्रेसका नेताहरूले प्रचण्डलाई दुःखमा साथ दिएको अवस्थालाई नभुल्न पनि बेलाबेलामा सम्झाउने गर्छन् ।