काठमाडौं, २३ चैत । सरकारले अदालतको आदेश अनुसार नै नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने तयारी थालेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाल प्रहरीको आईजीपी चाँडै नियुक्ती हुने जानकारी दिए ।
उनले भने, ‘सम्मानित अदालतको निर्णय सम्मान गर्दै सरकारले चाँडै आईजीपी नियुक्त गर्छ, अहिले नेपाल प्रहरी आईजीपी विहीन छैन, न्यायपालिकाको निर्णयलाई सरकारले सम्मान गर्दै चाँडै आईजीपी नियुक्ती गर्छ ।’
कहिलेसम्म नियुक्ती गर्नुहुन्छ त भन्ने पत्रकारको एक प्रश्नमा उनले भने, ‘छिट्टै हुन्छ, तपाईहरुले यो खबर चाँडै थाहा पाउनुहुन्छ, एक दुई दिनमै पनि हुनसक्छ ।’
को बन्छ ?
मन्त्री बाँनियाले आईजीपी यसलाई नै बनाउनु भनेर अदालतले नाम किटान नगरेको समेत जिकिर गरे । उनले थपे, ‘अदालतले कसैको पनि नाम किटान गरेर यसलाई नै आईजीपी बनाउनुपर्छ भनेर निर्णय गरेको छैन ।’
मन्त्री बाँनियाको भनाई अनुसार वरियतामा पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवालदेखि दोस्रो नम्बरका प्रकाश अर्यालको पनि आईजी सम्भावना छ भन्ने बुझ्न सकिन्छ ।
‘चुनावको सुरक्षा योजना स्थानीय तह पठाईसकियो’
मन्त्री बानियाँले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनको लागि सरकारले स्थानीय तह सुरक्षा विशेष योजना स्वीकृत गरेर मातहतमा पठाईसकेको बताए । एक हप्ताभित्रै मतदान केन्द्र र निर्वाचन क्षेत्रमा सूरक्षा निकायलाई परिचालन हुने उनको भनाई छ ।
‘सेना परिचालन हुन्छ’
मन्त्री बानियाँले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने बताउँदै भने, ‘सेना परिचालन हुन्छ, सेनालाई कस्तो भूमिकामा परिचालन गर्ने भन्नेबारे सरकारले निर्णय गर्छ, सेना परिचालन गर्न आवश्यक छ, सबै सूरक्षा निकायलाई परिचालन गरेर स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुन्छ ।’ तोकिएकै मिति बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्नेगरि गृह प्रशासन अघि बढिसकेको उनले स्पष्ट पारे ।
मधेशी मोर्चाले पनि चुनावमा भाग लिने विश्वास
मन्त्री बानियाँले मधेशी मोर्चाले पनि चुनावमा भाग लिने विश्वास दिलाए । उनले भने, ‘तराई मधेशमा अहिले चुनावको व्यापक तयारी भैरहेको छ, मोर्चाले पनि चुनावमा भाग लिन्छ, यसमा कुनै दुई मत छैन् ।’ उनले मोर्चा चुनावमा सहभागी हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे ।
चुनाव एकै चरणमा हुने
त्यस्तै उनले सरकारले अहिले बैशाख ३१ गतेको निर्वाचनलाई दुई चरणमा गर्ने भनेर नभनेको समेत स्पष्ट पारे । बानियाँले भने, ‘चुनाव एकै चरणमा हुन्छ, गृह प्रशासनको तयारी देशभरि नै एकै चरणमा अर्थात बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्ने रहेको छ, अहिले निर्वाचन दुई चरणमा गर्ने भनेर सरकारले परिकल्पना गरेको छैन् ।’
‘मधेसी मोर्चाको माग पूरा हुन्छ’
उनले मधेशी मोर्चाको माँग सम्बोधन गर्नको लागि सरकारले आन्तरिक गृहकार्य गरिरहेको स्पष्ट पारे । मन्त्री बानियाँले थपे, ‘हामी संविधान संशोधनमा पूर्ण प्रतिबद्ध छौं, हाललाई प्रदेशको सिमांकनलाई उच्चस्तरीय आयोग बनाएर टुँगो लगाउनेगरि अघि बढ्ने तयारी भैरहेको छ ।’













प्रतिक्रिया