काठमाडौं, २१ चैत । बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीको आयोजनामा सोमबार काठमाडौंमा एक दिवसीय अन्तरक्रिया तथा विचार गोष्ठि सम्पन्न भएको छ । आसन्न स्थानिय तहको निर्वाचनको सन्दर्भ पारेर ‘बलियो लोकतन्त्रका लागि सचेत युवा’ बिषयक गोष्ठि आयोजना गरिएको थियो ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउद, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, राजनीतिक विश्लेषक पुरुषोत्तम बस्नेत लगायतले आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा देशभरबाट विभिन्न राजनीतिक एवं गैरराजनीतिक युवा संगठनबाट करिब ३ सय युवाहरुको सहभागिता थियो । कार्यक्रमको सभापतित्व बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका अध्यक्ष एवं नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले गर्नुभएको थियो ।
बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी, प्रजातान्त्रिक विचार र प्राज्ञिक बहसलाई प्रबद्र्धन गर्ने उद्देश्यले स्थापित स्वतन्त्र थिंक ट्याङ्क हो । जसले यसअघि माघको पहिलो साता ‘वान बेल्ट वान रोड (ओबिओआर)– नेपाल सम्मेलन’– २०१७ आयोजना गरेको थियो ।
आजको कार्यक्रमका प्रमुख वक्ताहरुले व्यक्त गर्नुभएका विचारः
डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री
सूचना प्रविधिको व्यापकता बढिरहेको समयमा आसन्न निर्वाचनमा नविनतम सोच र दृष्टिकोणसाथ प्रस्तुत हुन आवश्यक । देश–विदेशका विकासक्रमहरु क्षणक्षणमा पछ्याइरहेको पुस्तासामु अब कसैले झुट बेचेर कसैले राजनीतिक गर्न सक्दैन । खुलापन बोकेको नेपाली समाजमा कम्युनिष्ट शक्तिहरुको अझै राम्रो उपस्थिति रहनु अस्वभाविक हो । किनकि, समृद्धिका लागि कम्युनिजम कहिल्यै सही विकल्प हुन सक्दैन ।

एमालेले अहिले संगठित रुपबाट मिडियामार्फत् भ्रम फिजाउने काम गरिराखेको छ । उसले एकातर्फ देशलाई विभाजित गर्ने कदम चालिराखेको छ भने अर्कोतर्फ राष्ट्रवादी आवरण प्रस्तुत गर्न खोजिरहेको छ । एमालेले देशको परराष्ट्र नीतिबारे समेत अनेकन भ्रम फिजाउँदै देशको भन्दा पार्टी अनुकुलको कूटनीतिक अभ्यास गरिरहेको छ । कूटनीति एमालेले सोचेजस्तो सडकमा गर्ने चीज होइन । अझ, नेपालजस्तो गैरआर्थिक र गैरसैन्य शक्तिले त झनै होइन । हामीले विवेकपूर्ण कूटनीतिक कदम चाल्नु आवश्यक छ । एमालेले सप्तरीमा पनि विवेकी कदम नचाल्दा उत्पन्न भएको दुःखद् परिस्थितिले मानसिक रुपमा देशलाई कमजोर बनाउन सहयोग पुर्याउँछ ।
मेरो कार्यकालमा ‘टेवल’मा हामीले धेरै प्रगति गरेका छौं । गण्डक सम्झौतामा भारतसँग हुन नसकेका प्रगतिबारे बोलेका छौं । तर यहाँ कुराहरु यसरी बिगारिएको छ कि जनताहरु नेपालको कुरा विदेशीले किन नसुनेको भन्दा पनि विदेशीको कुरा हामीले किन नसुनेको भन्ने सवाल ज्यादा उठाउँछन् । हाम्रो राष्ट्रिय स्वार्थ सबैभन्दा राम्रोसँग हामीलाई नै थाहा हुन्छ । देशको स्थिरताका लागि अब कांग्रेस ठूला पार्टी मात्र होइन बहुमतको पार्टी हुनु आवश्यक छ ।
एनपी साउद, पूर्वमन्त्री एवं नेका केन्द्रिय सदस्य
आसन्न स्थानिय निकायको चुनावले राष्ट्रिय मुद्दा बोकेर जाँदैछ, किनकि ठूलो भएको स्थानिय निकायको आकार र अख्तियारीले गर्दा अबको चुनावी माहोल रोचक बन्नेवाला छ । एमालेको राष्ट्रवाद गोयवल्स शैलीको छ जुन अबको युगमा काम लाग्दैन् ।
जितजंग बस्नेत, अध्यक्ष, नेपाल तरुण दल
अहिले चारैतिरबाट नेपाली कांग्रेसमाथि प्रहार भइरहेको छ । विपक्षिहरु कांग्रेसलाई सत्ता लिप्सा भएको पार्टी भनेर आलोचना गर्छन् । हो, कांग्रेसले काम गर्ने वैधानिक तरिकाबाट सत्तामै गएर हो । कांग्रेस कहिल्यै झुटो बोलेर सत्तामा गएको छैन । प्रजातान्त्रिक पार्टीको शैली भनेकै सत्ताबाट अगाडि बढ्ने हो ।
मानिसहरु मारेर तर्साएकै भरमा संविधान जारी हुनेजस्तो जिम्मेवारी पूरा हुन सक्दैन भन्ने असफल प्रचण्ड र बाबुराम भट्टराईका सरकारले देखाए । ४ कम्युनिष्ट प्रधानमन्त्रीले नसकेपछि सुशील कोइरालाले नै त्यो जिम्मेवारी फत्ते गरे । कांग्रेस के हो भन्ने यो सबैभन्दा बलियो उदहारण हो ।
केपी ओलीले उग्र पहाडवादको कुरा गरिरहनुभएको छ । मधेसी दलहरुले मात्र मधेसका मुद्दा उठाइरहेको भ्रम छरिएको छ । ७० प्रतिसत मधेसीको मत पाएको नेपाली कांग्रेस खासमा मधेसवादी दल हो । एमाले अहिले भाँडोभैली गर्न मात्र लागिरहेको छ ।
नैनसिंह महर, अध्यक्ष, नेपाल विद्यार्थी संघ
भविष्य अब युवाहरुको हो । प्रविधिले देशलाई गतिशिल बनाइराखेको छ । जसले गर्दा अब हरेक युवा राजनीतिप्रति सचेत हुनपुगेको छ र हुनुपर्छ पनि । रेष्टुराँको मःमसम्म अहिले राजनीति जोडिनेगर्छ । हरेक सचेत युवा प्रजातान्त्रिक हुनुपर्छ । प्रजातान्त्रिक अभ्यास र संस्कारले मात्र राष्ट्रियता बलियो हुन्छ । कम्युनिष्टहरुले अहिले जुन राष्ट्रवादको लहर पिटिरहेका छन् तर उनीहरु स्वभावतः वा सिन्द्धान्ततः राष्ट्रवादी हुन सक्दैनन् ।
पुरुषोत्तम दाहाल, राजनीतिक विश्लेषक
नेपालमा एकजना पनि कम्युनिष्ट छैनन् । कम्युनिजम जीवनपद्धती र आचरण हो जो यहाँ आफूलाई कम्युनिष्ट भन्ने कसैसँग पनि छैन । केपी ओलीलाई कम्युनिष्ट भन्नु उनकै अपमान हो । किनकि आफू जो होइन, उसलाई त्यो भन्दा रिस उठ्छ ।
पुराना पुस्ताका नेताका कमजोरीमाथि प्रश्न उठाउन भन्दा नयाँ पुस्ताले आफूमा ती कमजोरी नदोहोर्याउन बढि शक्ति खर्चनु बेस हुन्छ ।
प्रेमराज जोशी, अध्यक्ष, बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी
देशले झेलेका यावत समस्याको समाधान प्रजातान्त्रिक आचरण र संस्कार निर्माणसँग गएर जोडिन्छ । अबको निर्वाचनको माहोल भनेको प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नयाँ पुस्तासम्म पु¥याउने अवसर र महाअभियान बन्नुपर्छ ।















प्रतिक्रिया