६ मंसिर २०८३, आइतबार

एमालेले बनायो निर्वाचन घोषणापत्र मस्यौदा समिति, को-को छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ चैत । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति निर्माण गरेको छ ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति बनाएको हो ।

समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहेका छन् ।

निर्वाचन अनुगमन तथा समन्वय समिति गठन

त्यसैगरी बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

उक्त समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहेका छन् ।

बैठकले यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस पठाउनका लागि वडा कमिटीहरुले यही चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्न निर्देशन दिएको छ ।

यसका लागि पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।

एक व्यक्ति एक तहमा मात्र उम्मेदवार बन्न पाउने

सचिव भट्टराईका अनुसार वर्तमान संविधानअनुरुप हुन गइरहेको तीन तह (स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसद्) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले वैशाख ३१ गते हुने निर्वाचनमा नेकपा (एमाले)लाई विजयी बनाउन पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय तथा विभागका सदस्यहरु, सांसदहरुका साथै जनसंगठनका केन्द्रीय नेताहरुलाई सम्बन्धित प्रदेश समन्वय कमिटीसँग समन्वय गरी आ–आफ्नो स्थानीय तह रहेको क्षेत्रमा तत्कालदेखि नै क्रियाशील हुन निर्देशन गरेको छ ।

स्थानीय निर्वाचनको सम्पूर्ण तयारीको लागि केन्द्रीय कमिटीको बैठक वैशाख ३ गते आयोजना गर्ने निर्णय पनि गरिएको छ ।