काठमाडौं, १८ चैत । नेपाली कांग्रेसले स्थानीय तहमा आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन सबै तहमा ‘स्थानीय निर्वाचन परिचालन समिति’ बनाउने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिको आज सानेपामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई राष्ट्रव्यापी रुपमा विजयी गराउने निर्णय गरेको हो ।
‘पार्टी केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ–नगर हुँदै वडा–टोल तहसम्म एउटै अठोट र एउटै अभियानमा पार्टीलाई थप संगठित र परिचालित गर्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई प्रथम स्थानमा विजयी गराउने लक्ष्यमा सम्पूर्ण रुपले केन्द्रिीत र क्रियाशील हुने निर्णय गरेको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
‘पार्टीका सबै तहमा ‘स्थानिय निर्वाचन परिचालन समिति’ लगायत आवश्यक अन्य समिति गठन गरेर चुनाव प्रचार प्रसार अभियानलाई सुव्यवस्थित तुल्याउने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रदेशमा व्यापक नागरिक सहभागिताका साथ पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा सात वटा वृहत सभा आयोजना गर्ने निर्णय गरेको छ ।’
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले आफ्नो निर्वाचन कार्यक्रमलाई क्रियाशील बनाउने निर्णय गरेको हो ।
बैठकले निर्वाचनका विषयमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाका साथै व्यवसायीसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको आज बसेको पहिलो बैठकले समितिको कार्यविधि तय गर्नाका साथै निर्वाचनमा पार्टीको भूमिका सशक्त बनाउन सबै संरचना कसरी परिचालन गर्ने सम्बन्धमा छलफल भएको समिति सदस्य पुष्पा भुसालले जानकारी दिनुभयो ।
पार्टीको मङ्गलबार सम्पन्न केन्द्रीय समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत र सुजाता कोइराला सदस्य हुनुहुन्छ ।
त्यस्तै समिति सदस्यमा भुसाल, भण्डारी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसार्इं, सूर्यमान गुरुङ र रोमी गौचन थकाली हुनुहुन्छ ।












प्रतिक्रिया