
न्यूयोर्क । अमेरिकामा रहेका किराँत धर्माबलम्बीहरुले यो बर्षको किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा (उभौली पर्व) टेक्सासको डालस शहरमा विभिन्न कार्यक्रम गरि मनाउने भएका छन् ।
आगामी मे २६ देखि २८ सम्म चल्ने कार्यक्रम अमेरिकामा रहेका किराँतहरुको केन्द्रीय संगठन किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटी अफ टेक्सस फर रिलिजन एण्ड कल्चरले संयुक्त रुपमा आयोजना गर्न भएका हुन् ।
अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहने सो पर्वलाई विगत ४ वर्षदेखि किराँत कम्यूनिटी अर्गनाइजेसन अफ अमेरिकाले विभिन्न राज्यमा रहेका आफ्ना शाखाहरुसँग मिलेर मनाउँदै आएको छ ।
“विदेशमा रहेर पनि आफ्नो कला, धर्म र संस्कृतिको संरक्षण गर्दै अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचान जोगाउने उद्देश्यले यो पर्व मनाउन लागिएको हो,” किराँत कम्यूनिटी अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुहाङले भने ।
“विश्वका मानवजातिको सुख, शान्ति र समृद्धिको लागि हरेक बर्ष उभौली पर्वमा भगवान तगेरा निगंवाभुमाङसंग हामी प्रार्थना गर्ने गर्दछौँ ।” किराँत धर्मका पुजारी समेत रहेका सुहाङले बताए ।
तीन दिनसम्म चल्ने सो मेलाको पहिलो दिन किराँत कम्यूनिटी अर्गनाइजेसनको राष्ट्रिय भेला तथा साधारणसभा तथा विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा हुनेछ भने अन्तिम दिन सांस्कृतिक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गर्ने कार्यक्रम रहेको प्रचार संयोजक मिरा राईबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उभौली र उधौली किराँत धर्मका दुई महान चाडहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दैैै बर्खामा मनाइन्छ । यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा सम्पन्न भएका थिए ।
कार्यक्रममा सहभागिताको लागी अमेरिकामा रहेका समस्त भुटानी तथा नेपाली समुदायमा अर्गनाइजेसनले अपिल समेत गरेको छ ।















प्रतिक्रिया