काठमाडौं, १७ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
पूर्वसहमति अनुसारका काम नभएको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका हुन् ।
राजधानीमा दुई दिनसम्म चलेको फोरम लोकतान्त्रिकको कार्यसम्पादन समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा गम्भीर छलफल भएको हो । स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेसका माग पूरा गर्न नसकेको लगायतका आरोप फोरम लोकतान्त्रिकको छ ।
स्रोतका अनुसार बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएर जानुपर्ने जनाएका थिए ।
फोरम लोकतान्त्रिकले अन्य दलहरूसँगको पार्टी एकीकरणका लागि छलफल खुल्ला राख्ने निर्णय पनि गरेको बुझिएको छ । सिद्धान्त मिल्ने दलहरूसँग सहकार्य वा पार्टी एकीकरण गरेर जाने फोरम लोकतान्त्रिकको तयारी छ ।
कार्यसम्पादन समिति बैठकमा अध्यक्ष गच्छदारले एमालेका अध्यक्ष केपी ओलीको सरकारलाई समर्थन गरेर ठूलो गल्ती गरेको स्वीकार गरेका छन् । उनले ओली सरकारलाई समर्थन गरेकै कारण पार्टीलाई ठूलो क्षति भएको बताएका हुन् ।











प्रतिक्रिया