काठमाडौं, १६ चैत । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर बाहिरिएका प्रकाशचन्द्र लोहनीले आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गरेका छन् । पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) राखिएको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत लोहनीको अध्यक्षतामा ७१ सदस्यीय समिति घोषणा गरिएको छ । पार्टीको बरिष्ठ नेतामा केशरबहादुर विष्ट छन् ।
पार्टीको विधानमा १७५ जना केन्द्रीय सदस्य बनाउने रहने व्यवस्था गरिएको र बाँकी केन्द्रीय सदस्य पछि थप्दै गइने पार्टीका नेता श्याम तिमल्सिनाले जानकारी दिए ।
विष्ट नेतृत्वको एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान र गणेश शेरचन नेतृत्वको राप्रपा समानान्तरसमेत मिलेर लोहनीको अध्यक्षतामा नयाँ पार्टीको घोषणा गरिएको हो ।
नयाँ पार्टीको एजेण्डा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र रहेको छ । पार्टीको चुनाव चिन्ह हलो राखिएको छ । पार्टीलाई बैधानिक मान्यता दिन आजै निर्वाचन आयोगमा निवेदन समेत दिएको पार्टीले जानकारी दिएको छ । कमल थापाले एजेण्डालाई सत्तामा जाने भर्याङ बनाएको बनाउनुका साथै पार्टीको चुनाव चिन्ह हलो हटाएको भन्दै पार्टीबाट बाहिरिएका थिए ।












प्रतिक्रिया