३१ आश्विन २०८३, शनिबार

चिनियाँ पर्यटन व्यवसायीको उच्चस्तरीय टोली पोखरामा, पर्यटकीय विकासबारे के कुरा भयो ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ चैत । नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् ।

पर्यटनमा साझेदारी गर्दै दुवै देशबीचको पर्यटकीय विकास गर्ने उद्देश्यका साथ सिचुआनको पर्यटन विकास आयोगका पदाधिकारीसहितको टोली पोखरा आएको हो ।

टोलीले मङ्गलबार पोखरामा एक अन्तक्रियासमेत गरेको छ ।

अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाल र चीनबीचको छ दशक यताको सम्वन्ध रहेको बताउँदै पर्यटनमा साझेदारीका लागि यस किसिमका कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

उहाँले भुकम्पपछि नेपालमा अन्य विदेशी राष्ट्र्का तुलनामा चीनबाट धेरै पर्यटक आएको बताउँदै घुमफिरका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वव्यापी बन्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा चिनियाँ राजदुतावासका फान जिन्केले सिचुआनबाट नेपाल आउन जान सजिलो भएको बताउँदै पर्यटनमा साझेदारीले दुवै देशको पर्यटकीय विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सिचुवान क्षेत्रका पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिले सिचुवान चीनको दक्षिण पश्चिमी भूभागमा अवस्थित सुन्दर प्रान्त भएको जानकारी दिँदै पर्यटनको दृष्टिले यो सुन्दरता एवम् प्राकृतिक सम्पदाले भरिपूर्ण सहरका रुपमा रहेको जानकारी दिनुभयो ।

चीनबाट वार्षिक आउने पर्यटकमध्ये सबैभन्दा बढी सिचुआन प्रान्तबाट आउने गरेको कार्यक्रमका सहभागीको सामूहिक धारणा रहेको थियो ।

कार्यक्रममा सिचुआन प्रान्तका उपगभर्नर चु खुजिनले सिचुआनमा बर्सेनि तीस लाख विदेशी पर्यटक आउने गरेको बताउनुभयो ।

उहाँले यस किसिमका कार्यक्रमबाट नेपाल र चीन दुवै देशको पर्यटनको बारेमा एक अर्कालाई जानकारी गराउँदै दुवै देशको पर्यटकीय बाहुल्यता अभिवृद्धि हुने उल्लेख गर्नुभयो ।

चीनमा पाइने हाब्रे (पान्डा) मध्ये ८० प्रतिशतको बासस्थान सिचुआनमा रहेको त्यहाँको पर्यटन आयोगका मिआयो युयानले जानकारी दिनुभयो । रासस