चन्द्रौटा, १० चैत । “शुद्ध पिउने पानी स्वच्छ जिन्दगानी, फोहोर पानीको पुन प्रयोग गरौं” भन्ने नाराका साथ विश्व पानी दिवस कपिलवस्तुमा भव्य कार्यक्रमका बीच मनाइएको छ ।
सुआहाराको सहयोगमा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति पत्थरदेइयाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनता प्रावि पत्थरदेइयाका प्रधानाध्यापक राजकिशोर मिश्रले रोगबाट मुक्ति पाउन शुद्ध पानीको प्रयोगमा जोड दिनुभयो ।
जीवनमा सबैभन्दा महत्वपूर्ण पदार्थ पानी भएकाले आफनो जीवनलाई लम्बाउन शुद्ध पानी पिउनुपर्ने मिश्रले बताउनुभयो । दीर्घ जीवनका लागि सबैका घरघरमा शौचालय भएमात्र पानी दिवश मनाएको सार्थकता रहने उहाँले औल्याउनुभयो ।
कार्यक्रममा साबिक पत्थरदेइया गाविसका सहायक बिजय त्रिपाठीले अशुद्ध पानी तथा फोहोरमैलाकै कारण बर्सेनी हजारौं मानिसहरु रोगको सिकार हुनुपरेको बताउनुभयो । उपचारकै लागि ठूलो धनराशी खर्चनुपर्दा ऋणको भारी बोक्न बाध्य हुनुपरेको उहाँले गुनासो गर्नुभयो । स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा साबिक पत्थरदेइया गाविसका स्वास्थ्य चौकी इन्चार्ज बीरेन्द्र अखेटाले खानेपानी शुद्धिकरणका घरेलु उपायबारे सहजीकरण गर्नुभएको थियो । पानी उमाल्ने, क्लोरिशन गर्ने, सोडिन प्रबिधि, क्याण्डल फिल्टर, कोलाइडल सिल्भर फिल्टर, बायोस्याण्ड फिल्टर आदि पानी सुद्धिकरणका घरेलु उपाय रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, महिला स्वयम्सेविकाहरु, गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समनय समिति, बिभिन्न विद्यालयका शिक्षक, सुआहारा फिल्ड सुपरभाइजर तेज कुमार घिमिरे, सुर्यमती यादव, सुआहारा सरसफाई प्रज्वलक बिरमाया सुनार लगायतले स्वच्छ पानी प्रयोगमा जोड दिएका थिए ।













प्रतिक्रिया