२० कार्तिक २०८३, शुक्रबार

नक्कली लाइसेन्स बनाउने प्रिन्टरसहित दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । किर्ते कागजात बनाई नक्कली सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाउने प्रिन्टर सहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली भद्रकाली–४ घर भई हाल ललितपुर बस्ने ३८ वर्षीय अनिलकुमार पाख्रिन र सिन्धुली भद्रकाली–९ घर भई हाल ललितपुर भनिमण्डल बस्ने ३१ वर्षीय गणेशबहादुर गोले पक्राउ परेका छन् । उनीहरुमध्ये पाख्रिनले नक्कली लाइसेन्स बनाउने र गोलेले ग्राहक खोज्ने काम गर्दै आएका थिए ।

उनीहरुले यातायात व्यवस्था कार्यालय बागमती र कोशीको छाप तथा अधिकृतको दस्तखत समेत नक्कली बनाई सर्वसाधारणबाट रकम लिएर नक्कली लाइसेन्स बनाइदिने गरेका थिए ।

छिटो छरितो तरिकाले लाइसेन्स बनाईदिन्छु भनेर उनीहरुले यातायात व्यवस्था कार्यालय बागमती र कोशीको नामको किर्ते लाइसेन्स बनाउने गरेको परिसरका प्रबक्त प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनीहरुको साथबाट लाइसेन्स तयार गर्ने प्रिन्टर, १९० थान होलोग्राम र अधिकृतको छाप, कार्यालयको छाप, १०५ थान खाली लाइसेन्स कार्ड बरामद गरिएको छ ।