बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

ट्रक साहित्य हटाउन महिला अधिकारकर्मीको माग

दैनिक नेपाल २०७३ चैत ६ गते १५:१८

– नरेश केसी

भैरहवा, ६ चैत । ट्रक साहित्यले महिला हिंसामा बढवा दिएको भन्दै महिला अधिकारकर्मीले त्यस्तोलाई तत्काल रोक्न माग गरेका छन् ।

उनीहरुले ट्रक, बस, लरी, जीप तथा विभिन्न सवारी साधनहहरुमा लेखिने सायरी, कविता, गजल, मुक्तक जस्ता साहित्यीक विधाका सृजनाहरु उच्छृङखल र असभ्य हुदां नारिहरुको अपमान भएको दाबी गरेका छन् ।

अधिकारकर्मिहरुले व्यवसायी, प्रशासनिक निकाय तथा सरोकारवालाको यसमा विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् । महिला अधिकारकर्मिहरुले ट्रक साहित्यको कारण सार्वजनिक सवारीमा आवतजावत गर्नमा समेत मानसीक समस्या पर्ने गरेको जनाएकाछन् ।

लुम्बिनीखबर सन्चारगृह प्रा.लिले भैरहवामा आयोजना गरेको सन्चार र संस्कृतिमा नारी सहभागीता विषयक कार्यक्रममा अवधारणा पत्र पेश गर्दै अधिकारकर्मि ज्ञानु पौड्यालले ट्रक साहित्यले महिला हिंसा गरेको भन्दै तत्काल त्यस्ता साहित्यीक सृजना हटाउन माग गरिन् । रुपन्देहीबाट प्रतिनिधीत्व गर्ने सांसद, सिडिओ, एसएसपी सहित सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रमुख सहित पत्रकारहरुको उल्लेख्खय सहभागीता रहेको उक्त कार्यक्रममा ट्रक साहित्यले महिला हिंसा गरेको सन्दर्भसहित अवधारणा राख्दा सहभागी समेत आश्चर्यचकित भएका थिए ।

अवधारणापत्रमाथी टिप्पणी गर्दै अधिकारकर्मिहरुले ट्रक साहित्यलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम समापन पश्चात ट्रक साहित्यले महिला हिंसा गरेको छ छैन भनेर सर्वदा चासोको विषय बन्यो । त्यसै प्रसंगमा ट्रक साहित्य खोज्दै जादा हामीले केही प्रतिनिधीमूलक ट्रकहरुमा लेखिएका रचनाहरु हेर्दा महिलाप्रति केहीमा घोचपेच त केहीमा सकारात्मक नै भएर लेखिएको देखियो ।

ना ५ ख ३३० नम्बरको गाडीमा लेखिएको थियोः गाडी हो छ चक्के, युरो थ्री, दाई चढे भाडा बहिनी चढे फ्री । यसैगरी अर्को ट्रकमा थियो आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाट्नु हुदैंन । जन्मदिने आमाबुबा पन्छाएर, श्रीमतिको गाला चाट्नु हुदैंन ।

राजमार्गका सडकमा कुदिंरहेको ट्रक साहित्य खोज्दै जादा कतै गाली त कतै अश्लिल शब्दहरु पनि देखिए । कुनै त उल्लेख गर्न पनि नमिल्ने रहेछन् । त्यस्ता अश्लिल रचना पुर्व पश्चिम कुदिरहने सवारी साधनमा लेख्दा समेत प्रशासन मौन बसेको देख्दा अधिकारकर्मि पौड्यालले उठाएको आवाजलाई अभियानको रुपमा लानुपर्ने देखिएको छ ।

कुनै सवारी साधनमा लेखिएको थियोः मलाई छाडी जाने तिमी, तिम्रो भाग्य फुटोस् । लोकल रक्सी खाएर राति राति तिम्रो पोइले कुटोस ।

ट्रक साहित्यको सम्बन्धमा धेरै लामो इतिहांस नभएता पनि इन्टरनेटको दुनियांमा भने यसको पहुंच पुगीसकेको देखिएको छ । जसलाई विभिन्न व्यक्तिहरुले रोमान्चीत हुदै सामाजिक सन्जालमा शेयर समेत गरेका छन् ।

सासु पनि ठीस, ससूरा पनि ठीस, छोरी भने वन पीस,
काठमाण्डौंका सुकुल गुण्डा, पोखराको गाइने,
अचेलका केटिलाई टयापे केटा चाहिने ।।

यसरी ट्रकहरुमा लेखिएको साहित्यले महिला हिंसा भयो भनेर भन्न नमिल्ने गाडी चालक बताउंछन् । ना ५ ख ४५४४ नम्बर ट्रकका चालक रमेश गैरेले भने “खै मेरो बुझाईमा त्यस्तो हिंसा भएको जस्तो लाग्दैन । ” ट्रकमा यस्तो सायरी कसरी र किन लेखिन्छ भन्ने सबालमा उनले भने “ट्रकहरुमा यस्तो सायरी लेखिनुको खासै कारण त छैन तर रमाइलोकोलागी नै हो । चालक सहचालकहरुले यस्तो सायरी लेख्न रुचाउंछन् । लामो यात्रामा मालबाहक सवारी लिएर हिड्दा थकाइ लागिरहेको बेला आफ्नो गाडीमा त हुन्छ नै अर्काको गाडीमा पनि लेखेको सायरी पढ्दा मन रोमान्चीत भई थकानलाई कमी गर्न पनि सघाउंछ । ”

तर नारी अधिकारकर्मिहरु भने ट्रक साहित्यले महिलाप्रति प्रहार गरेको जनाए । साहित्यकार तथा अधिकारकर्मि एल शर्माले भनिन् “पृतीसत्तात्मक परिवारमा महिलालाइ हेप्ने प्रवृति परापुर्वकालदेखी नै चलिआएको हो । यो ट्रक साहित्य त्यसैको निरन्तरता हो । यस्ता उच्छङखृल, अश्लिल शब्दले भरिएको साहित्य साहित्य हुनै सक्दैन । यो त साहित्यको नाममा विकृति हो । यसले महिलाको मान मर्दन गरेको छ । यस्ता साहित्यलाई तत्काल हटाउनु पर्दछ ।”

अधिकारकर्मि पौड्यालले महिला अधिकारकारको क्षेत्रमा काम गर्ने संघसंस्था मिलेर ट्रक साहित्यमा महिला प्रति भएको छेडखानीलाइ तत्काल हटाउनुपर्ने जनाइन् । उनले भनिन् “कतिपय यस्ता सायरी लेखिएका हुन्छन् जुन पढ्न र उल्लेख गर्न पनि लाजमर्दो हुने गर्दछ । ”

पौड्यालले भनिन ट्रकहरुमा लेख्ने नै हो भने सकारात्मक चिन्तनका, लैगिक समनताका, मानव बेचविखन विरुद्धका सृजना लेखिनु पर्दछ ।

ट्रक साहित्यमा कति सभ्य कति असभ्य शब्दावली छनौट भएका छन् त्यसका विषयमा बहस गर्नु जरुरी नै देखिएको छ । अहिलेको २१ औं शताब्दीमा सबै किसीमको विभेदको विरुद्धमा आवज उठिरहेको बेला महिलाप्रति लक्षित गरि सार्वजनिक हिसाबले हिंसा गरिनु कानुन विपरित नै देखिन्छ । यसर्थ महिलाहरुको अपमान नै हुनेगरी सवारी साधनमा लेखिएका साहित्य सृजना हटाउन सबैको हातेमालो जरुरी छ ।

त्यसो त ट्रक साहित्यमा राम्रा पक्षहरुलाई पनि उल्लेख नगरिएका हैनन । लु १ ख ११६८ नम्बरको ट्रकमा आफु पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने सन्देशमूलक सृजना उल्लेख छ । अर्को एक टिप्परमा भने श्रृंगार शैलीको हंस मत पगली प्यार हो जायगा भनेर लेखिएको थियो । तराइ मधेसमा चल्ने अधिकांश ट्रकहरुमा हिन्दीमा लेखिएका रचनाहरु भेटिन्छन् ।

साहित्य सृजना समाजको सकारात्मक रुपान्तरणकोलागी हुनेगर्दछ तर कहिले काहिं साहित्यमै विभेद पनि देखिएको छ । पछिल्लो समय ट्रक, लरी, बस, पीकअप, जीप लगायतका सवारी एवं मालबाहक साधनहरुमा लेखिएका वाक्यांशले नेपालमा महिलाप्रतिको दृष्टिकोण अझै फेरिएको हैन की भन्ने आशंका सृजना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित