काठमाडौं, २७ फागुन । कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षाबलले गोली हानेर नेपाली युवाको हत्या गरेपछि रैथाने एकता परिषद्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । नेपालको सार्वभौमसत्तामाथि भारतले थिचोमिचो गरेको भन्दै परिषदले शुक्रवार राजधानीमा मोदीको पुत्ला दहन गरेको हो ।
परिषदका नेता विजय थापाको नेतृत्वको समूहले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो । तराई मधेसमा मधेसी मोर्चाले अंगीकृत नागरिकको प्रर्वद्धन गरी रैथाने मधेसीलाई अल्पमतमा पार्न खोजेको भन्दै गत महिना रैथाने एकता परिषद गठन भएको थियो । परिषदले तराई मधेसमा पछिल्लो समय आफ्ना गतिविधि बढाइरहेको छ ।
परिषद्ले भारतले यस्ता गतिविधि नसच्याए प्रतिरोध गर्ने पनि जनाएको छ । ‘भारतीय सरकारले आनन्दबजारमा आफूले गरेको अपराधको क्षमा माग्दैन र आफ्नो प्रवृति र गतिविधी सच्याउदैन भने आगामी दिनमा पनि देशभक्त नेपालीको तर्फबाट यस्ता प्रतिकार र विरोध सामना गर्नुपर्नेछ,’ परिषदका संयोजक सन्तोष बराईलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘रैथाने एकता परिषद् भारतले गर्ने यस्ता हरेक अपराधको विरोध र प्रतिकार गरिरहने छ ।’













प्रतिक्रिया