१९ कार्तिक २०८३, बिहिबार

देशको सीमा रक्षा गर्दा एसएसबीको गोली खाने गौतमलाई सहिद घोषणा गर्ने सरकारको तयारी

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ फागुन । सरकारले कञ्चनपुरको पुनर्वासको देशको सीमा रक्षा गर्दा भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गर्ने भएको छ ।

आज विहान सुदूरपश्चिमबाट आएको नेकपा माओवादी केन्द्रको ७ प्रदेशको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई सहिद घोषणा गर्ने निधो सरकारले गरिसकेको बताए ।

प्रधानमन्त्रीसँग सुदूरपश्चिमको टोली ।

‘देशको सीमा रक्षा गर्ने क्रममा भारतीय पक्षबाट मारिएका गौतमलाई सरकारले सहिद घोषणा गर्ने निधो नै गरिसकेको छ । प्रक्रिया अगाडि बढिसकेको छ,’ प्रधानमन्त्रीले भने– ‘उहाँको परिवारलाई तत्काल १० लाख रुपैयाँ दिने निर्णय भइसकेको छ । त्यस्तै मृतकका बालबच्चाको पठनपाठनको व्यवस्था सरकारले गर्ने भन्ने निर्णय पनि हामीले भर्खरै गरेका छौं । उहाँको पोस्टमार्टम गरेर सम्मानपूर्वक अन्त्येष्टि गर्ने कुरामा पनि सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री प्रचण्डले कुटनीतिक तवरबाट घटनाको अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्न भारत सरकारसँग पहल गरिरहेको समेत जानकारी गराए । ‘एउटा सार्वभौम र स्वतन्त्र मुलुकका हामीमाथि हुने कुनैपनि हस्तक्षेप हामीलाई सैह्य छैन् । यो कुरा भारत सरकारलाई प्रष्टसँग भनिएको छ,’ उनले भने- ‘गृह मन्त्रालयबाट पनि छानविन भइरहेको छ ।’

उनले नेपाल भारत सीमानामा गएर भावना पोख्नु भन्दा संयम हुन सुदूरपश्चिमबासीलाई आग्रह समेत गरे ।

माओवादी केन्द्रका ७ नं प्रदेशका इन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा स्व गौतमलाई राष्ट्रिय सहिद र सम्मान गर्न, मृतकका परिवारलाई रु ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि सजाय गर्न, गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।