१४ कार्तिक २०८३, शनिबार

वितण्डा रोक्न मोर्चालाई एमालेको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्ष दल एमालेले राजविराज आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ ।

मेची–महाकाली अभियानका क्रममा सप्तरी सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजनासहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय एमालेले गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

बुधबार बसेको एमाले सचिवालय बैठकले राजविराज घटनाको भण्डाफोर जरुरी रहेको ठहर गरी सबै जिल्ला सदरमुकाममा आमसभा गरी घटनाबारे जानकारी गराउने निर्णय लिएको हो ।

राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा आमसभा आयोजना गर्ने निर्णय बैठकले गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। बैठकले आमसभाको मिति तय गरी कार्यक्रम गर्न सबै जिल्ला कमिटीलाई निर्देशनसमेत दिएको छ ।

बैठकले राजविराज घटनाको विषयमा वास्तविक जानकारी गराउने उद्देश्यले आज (बिहीबार) काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

भेलामा उपत्यकास्थित पार्टी सदस्य, मोर्चा संगठनका सदस्य र सम्पर्क कमिटीका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशनसमेत दिइएको छ ।

यसैगरी, अभियान पनि पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरूद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित मेची–महाकाली राष्ट्रिय अभियान भोलिदेखि हेटौंडाबाट पूर्ववत् रूपमा सुचारु हुने प्रस्ट पार्दै एमालेले सहभागी हुन अपिल गरेको हो ।

बैठकले आक्रमणको भण्डाफोर गर्न प्रदेश–२ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्नुका साथै प्रदेश–२ अन्तर्गतका आठवटै जिल्लामा कार्यकर्ता भेला, जिल्लास्तरीय सभा गर्ने निर्णय गरेको छ ।

एमालेले जिल्ला–जिल्लामा भइरहेको अलोकतान्त्रिक एवं आपराधिक क्रियाकलाप रोक्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई चेतावनीपनि दिएको छ ।

एमालेले मोर्चाको आतंकले सीमा नाघेको भन्दै सुरक्षा व्यवस्था मिलाउनुका साथै आपराधिक कार्यमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।