१९ कार्तिक २०८३, बिहिबार

मलेसियाको कमाइ दुर्गमको विद्यालयलाई सहयोग

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, २५ फागुन । प्यूठान जिल्लाको तुसारा गाविस वडा नम्बर ९ मा रहेको सीता आधारभुत विद्यालयको कम्पाउण्डभित्र प्रवेश गर्ने मूलद्वारा निर्माण गरिएको छ ।

स्थानीय समाजसेवी बसन्तबहादुर थापाको आर्थिक सहयोगमा विद्यालयको मूलद्वारा निमार्ण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अनुसार थापाले मूलद्वारा निर्माणका लागि एक लाख ७५ हजार रुपियाँ सहयोग गरेका हुन् ।

‘प्यूठान जिल्लाको दुर्गम गाविसमा रहेको यो विद्यालयमा सहयोग गर्न पाउनु मेरा लागि अवसर हो’, समाजसेवी थापाले भने, ‘यो विद्यालयमा म आफै पनि अध्ययन गरेको हुँ । मेरो जन्म गाउँको विद्यालय भएकाले आर्थिक सहयोग गर्नु कर्तव्य पनि हो ।’

हाल दाङको देउखुरीस्थित सिसहनियाँ गाविस वडा नम्बर ५ बसोबास गर्दै आएका थापा ७ वर्ष मलेसियामा रोजगारी गरेर आएका हुन् । ‘विदेशको कमाइबाट थोरै भए पनि रकम विद्यालय र समाज सेवामा सहयोग गर्नु मेरा लागि अवसर पनि हो’, थापाले भने ।

देउखुरीमा पनि थापाले आफूले मलेसियामा भोगेको दुःखकष्टलाई ध्यान दिएर गाउँघरमा सामाजिक कार्य गर्दै आएका छन् । उनी भन्छन्, ‘विदेशमा रहरले कोही पनि जाँदैन । रोजगारीका लागि जाने हो । थोरै भए पनि कमाइ गर्नु पर्ने बाध्यता हुन्छ ।’

थापाले सिसहनिया उद्योग वाणिज्य संघलाई पनि आर्थिक सहयोग गरेका छन् । संघको बन्दै गरेको भवनलाई १ लाख २६ हजार सहयोग गरेको उनले बताए ।

उनले गतसाल चैत महिनामा सिसहनियामा सञ्चालन भएको पताञ्जली योग शिविरको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएका थिए । शिविरमा गाउँका थुप्रै सर्वसाधारणको उपस्थिति रहेको थियो ।