काठमाडौं, २४ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सप्तरीमा सोमबार साँझ भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेको छ ।
सप्तरीको राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचसाँझ भएको झडपमा प्रहरीले चलाएको गोली लागी मलेठ–२ का २३ वर्षीय सञ्जन मेहता, जोलहरी मलेठ–४ का ५० वर्षीय पीताम्बरलाल मण्डल र प्रस्वनी गाविस घर भई राजविराज–९ मा बस्दै आएका ३४ वर्षीय आनन्द साहको मृत्यु भएको थियो ।
घटनाको भोलिपल्ट मंगलबार इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले विज्ञप्तिमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् । इन्सेकले संयमता अपनाउन सबैमा आग्रह समेत गरेको छ ।
यस्तो छ इन्सकेको विज्ञप्ति जस्ताको तस्तैः
संयमता अपनाऔ
सप्तरीको राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचसाँझ भएको झडपमा प्रहरीले चलाएको गोली लागी मलेठ–२ का २३ वर्षीय सञ्जन मेहता, जोलहरी मलेठ–४ का ५० वर्षीय पीताम्बरलाल मण्डल र प्रस्वनी गाविस घर भई राजविराज–९ मा बस्दै आएका ३४ वर्षीय आनन्द साहको मृत्यु भएको घटनाले हामीलाई दुःखी तुल्याएको छ । मेहताको घटनास्थलमै तथा मण्डल र साहको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनामा परी मृत्युवरण गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई राहत र घाइते भएकाहरूलाई उपचारको निःशुल्क व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछौँ ।
मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र १९६६ तथा नेपालको संविधानको भाग ३ धारा १७ को उपधारा २ ‘क’, ‘ख’ र ‘ग’ ले शान्तिपूर्ण जुलुस, सभा र सङ्गठन गर्न पाउने अधिकार प्रदान गरेको छ ।
नेकपा एमालेले आयोजना गरेको मेची महाकाली जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा भएको आमसभालाई बिथोल्ने अभिप्रायले लोकतान्त्रिक मधेसी मोर्चाले विरोधका कार्यक्रम तय गरेको थियो ।
एमालेले सभा सम्पन्न गरी रुपनी हुँदै कञ्चनरुपतर्फ फर्किरहेका बेला कार्यक्रम स्थल बाहिरबाट ढुङ्गामुढा भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । दिनभरजसो भएको झडपमा प्रहरीले लाठीचार्ज, दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । यद्यपि घटनामा अत्यधिक बल प्रयोग भएको भन्ने प्रत्यक्षदर्शीको भनाइलाई पुष्टि गर्ने केही आधारहरू रहेका छन् । मृतकहरूको टाउको तथा छातीमा गोली लागेको देखिनाले पनि ज्यादतीको पुनर्पुष्टि गरेको छ ।
यस्ता किसिमका हिंसात्मक आन्दोलनका क्रममा मानवीय क्षति हुन नदिन भिड नियन्त्रण गर्ने कलामा प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्न, भिड नियन्त्रण गर्ने स्रोत साधनको उपयुक्त व्यवस्था गर्न तथा भिड नियन्त्रण गर्ने कार्यमा पर्याप्त सावधानी अपनाउने दिशातर्फ केन्द्रित हुन हामी नेपाल सरकारसँग माग गर्दछौँ । यसैगरी, विगतमा झैँ हामी फेरि पनि दोहो¥याउँछौँ निषेधको राजनीतिले देशलाई अगाडि बढाउँदैन ।
वार्ता र सम्वादका माध्यमबाट हरेक समस्या र असन्तुष्टिको समाधान खोज्न सकिन्छ । जिम्मेवार राजनीतिक दल र तिनको नेतृत्वले यसतर्फ तुरुन्त पहलकदमी अगाडि बढाउन् भनी माग गर्दै घटनाको छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गर्छौँ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष












प्रतिक्रिया