काठमाडौं, २३ फागुन । राष्ट्रिय सेवा दलद्वारा उपत्यकाभित्रका ९ वटा विद्यालयहरु सम्मिलित गराई संचालित सिनियर डिभिजन १२ औं व्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सोमबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त दीक्षान्त समारोहमा काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लाको विभिन्न शाखाहरुका गरी ४३५ जना छात्र/छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, नृत्य, तेक्वान्दो पि.टी., डेमोन्स्ट्रेशन, एरोविक्स, मास पि.टी., आईकिदो तथा सामुहिक नृत्यहरु उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए ।
उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार उपरथी रमीन्द्र क्षत्री (पी.एच.डी.) ले राष्ट्रिय सेवा दलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो क्रममा वहांले राष्ट्रिय सेवा दलको तालिममा सहभागी छात्र छात्राहरुले बेसिक मिलिट्ररी स्किलहरुको साथमा विपद् व्यवस्थापन, मानव सेवा, प्राथमिक उपचार लगायतका विषयहरुमा तालिम प्राप्त गरेको बताउनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री दाहालले वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने छात्रा रिमा मिधुन मगर र सर्वोत्कृष्ट छात्र युवराज तामाङ तथा वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने से.मु. श्री विजेश्वरी ज्ञान मन्दिरलाई पुरस्कार प्रदान गर्नुका साथै सर्वोत्कृष्ट छात्र छात्राहरुलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।
त्यसैगरी वहांले राष्ट्रिय सेवा दलद्वारा प्रकाशित कफी टेबल बुकको समेत विमोचन गर्नु भएको थियो । कार्यक्रमकै क्रममा राष्ट्रिय सेवादलका प्रमुख सल्लाहकार उपरथी रमीन्द्र क्षत्री (पी.एच.डी.) ले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सेवा दलको तर्फबाट सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सेवा दलको तालिमलाई लोकप्रिय र स्थापित गर्न नेपाली सेनाले खेलेको भूमिकाको उच्च प्रशंसा सहित नेपाली सेनाका वर्तमान प्रतिनिधि तथा विगतमा समेत अमूल्य योगदान दिनु भएका सम्पूर्ण सेना प्रमुख र सकलदर्जालाई आभार व्यक्त समेत गर्नु भयो ।
युवा शक्तिको महत्व तथा आवश्यकतालाई मनन गरि वि.सं.२०२२ साल कार्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरि स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म २६ हजार ८३८ जना छात्र छात्राहरुलाई सफलतापूर्वक तालिम प्रदान गरिसकेको छ ।
उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय सेवा दलका सह संरक्षक रक्षामन्त्री, प्रधान सेनापति, रक्षा सचिव लगायत नेपाल सरकारका पदाधिकारीहरु, रथीबृन्द, राष्ट्रिय सेवादलका पूर्व प्रमुख सल्लाहकारहरु एवं अधिकृतहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षक वर्गहरु, संचारकर्मी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।














प्रतिक्रिया