लन्डन । बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि पशुपति भण्डारीले नेपालका हिमाली क्षेत्रको १२० दिन लामो यात्रामा जान लागेको एलेक्स कोन्टीलाई खादा लगाइदिनुका साथै उनको यात्राको सफलताको कामना गर्दै शुभकामना दिएका छन् ।
लण्डनमा गएको १५ वर्षदेखि कार्यरत फ्रान्सेली नागरिक एलेक्स सोमबार नेपालतर्फ प्रस्थान गर्दैछन् । ब्ल्याकहीथस्थित एभरेष्ट इन रेष्टुरेण्टमा भएको भेटमा भण्डारीले दुई वर्षअघि नेपालमा गएको भूकम्पका कारण खासगरी विदेशी पर्यटक तथा पदयात्रीहरुमा केही आशँका कायम रहेको भए एलेक्सको भ्रमणले त्यो हटाउन मदत पुग्ने आशा व्यक्त गरे । उनले एलेक्सको यात्राकालागि सक्दो सहयोग गर्ने विश्वास पनि दिलाए ।
एभरेष्ट इन समूहका निर्देशक यादव भण्डारीले पनि मानवीय उद्देश्यले गर्न लागिएको सो पदयात्राको सफलताको कामना गरे ।
नेपाल तथा बेलायतका अटिज्मबाट प्रभावित बालबालिको सहयोगार्थ एक करोड तीस लाख रुपियाँ भन्दा बढी उठाउने लक्ष्य लिएर साहसिक पदयात्रामा जान लागेका एलेक्सले आफ्नो भ्रमणका क्रममा अटिज्मका बारे जानकारी दिने पनि बताए ।
पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म उच्च हिमाली क्षेत्रको पदयात्रामा जान लागेका उनले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन आफुले सक्दो प्रयास गर्ने पनि बताए ।
‘म पहिलो पटक नेपाल जान लागेता पनि यो मानवीय अभियानमा सहभागी हुन पाउँदा म निकै उत्साही छु। यो अभियानमा सघाउनुहुने सबै संघसंस्था तथा मित्रहरुलाई म धन्यवाद दिन चाहन्छु’, उनले भने ।















प्रतिक्रिया