१३ कार्तिक २०८३, शुक्रबार

एकै व्यक्तिद्वारा एक सय १८ पटक सुन तस्करी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । गुल्मीका विष्णु सुवेदी सन् २०१६ मा एक सय चारपटक दुबई पुगे । सामान्य आर्थिक हैसियत भएका उनी वर्षमा एकपटक पनि दुबई घुम्न सक्ने व्यक्ति होइनन्, तर सुनका बिस्कुट ओसार्न सुवेदी सातामा दुईपटकसम्म दुबई पुग्ने गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार सुवेदी सुन तस्करीका विश्वासिला भरिया हुन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पछिल्लो डेढ वर्षमा एक सय १८ पटक सुन ओसारेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

‘उनीजस्तै धेरै भरिया प्रयोग गरी विमानस्थलबाट लामो समयदेखि सयौँ केजी सुन नेपालमा तस्करी भइरहेको रहेछ,’ सिआइबीले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशको अर्थतन्त्रलाई नै धक्का दिने गरी ठूलो मात्रामा सुन तस्करी हुँदै आएको देखियो ।’

उनीजस्तै भोला मगर, राजन सुवेदी, संकेत उपाध्यय, गोपाल शाहीलगायतले पटक–पटक दुबईबाट सयौँ केजी सुन नेपालमा तस्करी गर्दै आएका थिए ।

दुई महिनापछि साढे ३३ किलो सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध सिआइबीले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

१२ जनालाई पक्राउ गरेर तथा अन्य २१ जनालाई फरार प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरिएको हो । उनीहरूलाई सात वर्षसम्म कैद सजायको माग गरिएको छ ।