झापा, २२ फागुन । एमालेले तराईकेन्द्रित मेची–महाकाली राष्ट्रिय जागरण अभियानको पहिलो दिन झापाका तीन सहरमा ठूला आमसभा र र्याली गरेको छ ।
पूर्वी झापाको काँकडभिट्टामा एमाले अध्यक्ष केपी ओलीले एक समारोहबीच राष्ट्रिय तथा पार्टी झन्डा हस्तान्तरण गरी अभियान उद्घाटन गरे । ओलीले पार्टी सचिव तथा प्रदेश नम्बर–१ का संयोजक भीम आचार्यलाई झन्डा हस्तान्तरण गरेका थिए । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
अभियान शुभारम्भलगत्तै काँकडभिट्टा, बिर्तामोड र दमकमा आयोजित छुट्टाछुट्टै जनसभालाई ओलीसहितका शीर्ष नेताहरूले सम्बोधन गरे । एमाले नेताहरूले अभियान कसैका विरुद्ध लक्षित नभएको प्रस्टीकरण दिँदै राष्ट्रिय एकता, संविधान कार्यान्वयन र निर्वाचनको पक्षमा भएको स्पष्ट पारे । उनीहरूले मधेसी समुदायको हितविपरीत संविधान संशोधन हुन लागिरहेकाले कुनै हालतमा संशोधन विधेयक पारित हुन नदिइने घोषणासमेत गरे ।
२१ फागुन ०२९ मा सुखानीको जंगलमा हत्या गरिएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको स्मृति दिवस पारेर एमालेले अभियान शुभारम्भ गरेको हो । अभियान उद्घाटनअघि सुखानी पुगेर नेताहरूले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
अभियानपछि काँकडभिट्टामा आयोजित सभालाई अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल, बिर्तामोडमा वरिष्ठ नेता झलनाथ खनाल तथा दमकमा अध्यक्ष ओली र स्थायी समिति सदस्य सुवास नेम्वाङले सम्बोधन गरेका थिए ।
जनसभामा कसले के भने ?
एमाले संविधान र जनताको मात्र आदेश मान्छ : ओली
एमाले संविधान मान्छ । हामी जनताको आदेशविपरीत अन्य कुनै आदेश मान्न बाध्य छैनौँ । हामी निर्वाचन गराउँछौँ, जनताको अभिमतविरुद्ध निर्वाचनको विपक्षमा लाग्ने जोकोही अब बढारिनेछन् । निर्वाचन रोक्न खोज्नेहरूलाई हामी चुनौती दिन्छौँ, निर्वाचन जनताका लागि हो, बिथोल्न खोज्ने दलहरू आफैँ समाप्त हुनेछन् । एमालेको जनसागर देखेर आत्तिएकाहरू अभियान रोक्न खोजिरहेका छन् । अब अभियान अघि बढ्यो–बढ्यो रोक्ने कसैको ताकत छैन । राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन, राष्ट्रिय एकता प्रवद्र्धन र सामाजिक न्यायका लागि हाम्रो पार्टी सम्झौताहीन रूपमा खडा हुन्छ । ढुक्क हुनुस्, संविधान संशोधन पारित हुँदैन, हुन दिइन्न । त्यो काम संसद् र संसदीय प्रक्रियाबाटै असफल पारिन्छ । हाम्रो कार्यक्रम कसैका विपक्षमा लक्षित छैन, राष्ट्र र जनताका पक्षमा छ । लोकतन्त्र, संविधान र राष्ट्रका पक्षमा भएका कसैले पनि यसबाट आत्तिनु पर्दैन ।
हामी कसैलाई ठुल्दाइ मान्दैनौँ : खनाल
निर्वाचन लोकतन्त्रका लागि जनताको आवश्यकता हो, कसैले विरोध गर्दैमा रोकिँदैन । निर्वाचन हुन नदिन कोही राजतन्त्र फर्काउने, कोही संविधान नमान्ने अभियानमा छन् । अब मुलुक पछाडि फर्कंदैन, अघि बढ्छ । आकारमा कुनै देश ठूला होलान्, कुनै देश साना होलान् । तर, सार्वभौम सत्तामा तल–माथि हुँदैन । हामी कसैलाई ठुल्दाइ मान्दैनौँ । संविधानले सबै नागरिकलाई बराबर अधिकार दिएको छ, विभेद गरेको छैन । हामी त्यही कुरा बुझाउन यो अभियान बोकेर जनताबीच आएका छौँ ।
निर्वाचन कुनै हालतमा टर्दैन : नेम्वाङ
संविधानका शब्द र अक्षर फरक पर्दैमा नमान्ने भन्ने अनि प्रधानमन्त्री बनाउन चाहिँ यही संविधान मान्ने ? मुलुक निर्वाचनमा होमिएको छ, अब निर्वाचन कुनै हालतमा टर्दैन । मेची–महाकालीसम्मका जनतालाई जोड्न अभियान सुरु गरिएको अभियानको पहिलोदिनमै जनसहभागिताबाट हामी उत्साहित छौँ । यसबाट पनि जनता संविधानको कार्यान्वयन र निर्वाचनका पक्षमा छन् भन्ने देखिन्छ ।
५५ किमिसम्म मोबाइल सवारी र्याली
तीन ठाउँको आमसभाका क्रममा एमालेले काँकडभिट्टाबाट बिर्तामोड हुँदै दमकसम्म ५५ किमि सवारी र्याली गरेको छ । मोटरसाइकल, ट्रक, पिकअप भ्यान, सार्वजनिक यातायातका बस, साइकलसहित करिब एक हजार सवारीसाधनमा एमाले नेता–कार्यकर्ता र्यालीमा सहभागी थिए । सभा समापनपछि दमकमा आयोजित पत्रकार सम्मेलनमा सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले तीन ठूला आमसभा, ठाउँ–ठाउँका कोणसभा र ¥यालीमा करिब डेढ लाख सहभागी भएको दाबी गरे । उनले अभियान असफल पार्ने दुष्प्रयास भएको भन्दै जस्तोसुकै अवरोध चिरेर भए पनि अभियान सफल बनाइने उद्घोष पनि गरे ।
यस्तो थियो सवारी लस्कर
सबैभन्दा अगाडि प्रहरी सुरक्षाकर्मीको मोबाइल गाडी थियो । त्यसलगत्तै मेची–महाकाली अभियान लेखिएको सजावटसहितका तीन ठूला गाडी अगाडि लागेका थिए । स्वयंसेवकका उपकमान्डर विनोद श्रेष्ठ नेतृत्वका तीन गाडीमा करिब दुई सय स्वयंसेवक थिए । त्यसपछि अध्यक्ष ओली र शीर्ष नेता तथा क्रमशः स्थायी समिति र केन्द्रीय नेताहरू चढेका गाडीहरूको लस्कर थियो । त्यसपछि तीन सयभन्दा बढी ठूला–साना गाडी, मोटरसाइकल र साइकल थिए ।
चोक–चोकमा सांस्कृतिक झाँकी र स्वागत
काँकडभिट्टाबाट बिर्तामोडबीच सकडमा पर्ने धुलाबारी, धाइजन, चारआली र बुधबारेमा ठूलो संख्यामा उपस्थित एमाले कार्यकर्ता र स्थानीयले र्यालीमा सहभागीलाई ताली र नारा लगाउँदै स्वागत गरेका थिए । त्यस्तै, बिर्तामोडबाट दमकबीच सडकको चारपाने, दुर्गापुर, लक्ष्मीपुर, सुरुंगा, माइधार, दुधे, झिलझिले, केर्खा, धरमपुर र पाडाजोगीमा स्थानीय बासिन्दाले र्यालीलाई स्वागत गरेका थिए । झापाको मगर, धिमाल, मेचे, झागड, राजवंशी आदिका संस्कृति झल्कने भेषभूषा र बाजागाजासहित र्यालीलाई जनसमुदायले स्वागत गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
दमकमा सामूहिक आवास र मेस
अभियानमा स्थायी रूपले खटिएका एमालेका एक हजार नेता तथा कार्यकर्ता दमकस्थित स्थानीय नेता–कार्यकर्ताको घरमा सामूहिक रूपमा बस्ने भएका छन् । तीन सय कार्यकर्ताको घरमा आवास र मेसको व्यवस्था मिलाइको एमाले क्षेत्रीय इन्चार्ज होमबहादुर थापाले जानकारी दिए । ‘स्थायी रूपमा खटिनुभएका नेता–कार्यकर्ता र स्वयंसेवक होटेलमा बस्ने छैनन्,’ उनले भने, ‘सबै नेताहरू कार्यकर्ताको घरमा बस्नेछन् ।’ एमाले अध्यक्ष ओली भने दमकस्थित निजी निवासमा बसेका छन् ।
आज विराटचोक र इटहरीमा सभा
एमालेले अभियानअन्तर्गत अाज मोरङको विराटचोक र सुनसरीको इनरुवामा र्याली तथा सभा आयोजना गर्दै छ । ५ चैतसम्म चल्ने अभियान महेन्द्रनगर हुँदै सुर्खेतमा फर्किएर सभा आयोजनापछि समापन हुनेछ । त्यसक्रममा ३३ स्थानमा आमसभा गर्ने एमालेको तयारी छ ।












प्रतिक्रिया