१३ कार्तिक २०८३, शुक्रबार

पौडेल समूहविरुद्ध देउवाको गम्भीर प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र भागबन्डाको राजनीति अन्त्यको एजेन्डासहित महाधिवेशनको मैदानमा उत्रिएका नेताले नै भागबन्डा खोजेर वाक्क बनाएको बताएका छन् ।

कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटनमा बोल्दै देउवाले पार्टीमा भागबन्डा चाहिन्न भन्नेहरूले नै भागबन्डा खोजेर वाक्क बनाएको बताएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

‘नयाँ नेतृत्वका लागि तपाईंहरू चाहिँ चुनाव गर्नूस्, चुनावले प्रजातन्त्र बलियो गर्छ, भागबन्डाबाट वाक्क भएँ, महाधिवेशनका बेला भागबन्डा चाहिन्न, अब अन्त्य गर्छु भन्नेले धेरै भाग मागेर वाक्क बनाए’, देउवाले भने ।

उनले पार्टीमा भागबन्डाका कुरालाई छाडेर सबैले निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि निर्धारित समयमा तीनवटै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने उनको भनाइ थियो ।

‘मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न पनि तोकिएको समयभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ’, देउवाले भने, ‘निर्वाचन सफल बनाउन सबैको सहयोग चाहिन्छ ।’

मुलुकको भौगोलिक अवस्थाका कारण पनि पुस र माघ महिनामा निर्वाचन असम्भव भएको बताउँदै उनले २०७४ मंसिरभित्र सबै चुनाव सकिसक्नुपर्नेमा जोड दिए ।

देउवाले प्राध्यापक संघ बुद्धिजीवीहरूको संस्था भएकाले प्रजातन्त्रमाथि आएका चुनौतीलाई समाधान गर्न बुद्धिजीवीहरूको महत्ववपूर्ण भूमिका रहने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिले विभिन्न स्वार्थसिद्धिका लागि मुलुकमा चलखेल गरिरहेको बताए ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले राजनीतिक दलले भागबन्डामा प्रहरी प्रमुख, राजदूत नियुक्ति गर्दा त्यसमा प्रजातन्त्रका लागि संघर्षशील पार्टी नेपाली कांग्रेसले पनि साथ सहयोग गरेकामा चिन्ता व्यक्त गरे ।

प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष वासुदेव घिमिरेले नयाँ संविधानअनुसार प्रादेशिक संरचनामा संस्थालाई विकास गरिने प्रतिबद्धता व्यक्त गरे । शनिबारसम्म जारी रहने महाधिवेशनमा १ हजार २ सय ७२ प्रतिनिधि सहभागी छन् ।

कांग्रेसको गत २४ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट पारित विधानको धारा ४९ को उपधारा १९ मा दुई महिनाभित्रै सबै तहका समिति तथा निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था छ ।

तर, महाधिवेशनको एक वर्ष बित्नै लाग्दासमेत सभापति देउवाले गठन गर्नुपर्ने करिब चार दर्जन विभाग, समिति र निकाय आकांक्षीको संख्या बढेपछि गठन गर्न सकेका छैनन् ।

१३औं महाधिवेशनपछि पार्टीभित्र फस्टाएका विभिन्न गुट तथा उपगुटलाई अन्त्य गर्न नसक्दा उनको आलोचना हुने गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पार्टीमा तेस्रो धारका रूपमा उदाएका नेता कृष्णप्रसाद सिटौला समूहले विभिन्न विभाग तथा निकायमा भाग खोज्न थालेपछि देउवाले आफू वाक्क भएको बताएका हुन् ।

केन्द्रीय समितिलगायत विभिन्न निकाय तथा विभागले पूर्णता नपाउँदा नेपाली कांग्रेसभित्र पार्टी सभापति देउवाको आलोचना हुने गरेको छ ।