धादिङ, २१ फागुन । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अबको युवा आन्दोलन समृद्धि र दिगो शान्तिमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
युवा संघ नेपाल धादिङको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पहारीले परनिर्भरताको अन्त्य गरेर अब दिगो र मजबुद आर्थिक व्यवस्थाको लागि एकताबद्ध हुन आम युवालाई आह्वान गरे । ‘युवाहरुको बलिदानी र संघर्षबाट प्राप्त अधिकारहरु रक्षाको लागि संविधानको कार्यान्वयन अहिलेको प्रमुख कार्य हो,’ उनले भने– ‘अब सबै युवा एक भएर देशलाई आर्थिक समृद्धितिर लैजानुपर्छ ।’
‘४० प्रतिशत युवा स्थानीय तहमा पुग्छन्’
आगामी निर्वाचनमा कम्तिमा ४० प्रतिशत युवाहरु उमेद्वार बन्ने बताउँदै पहारीले अबको जुनसुकै निर्वाचनमा युवा मैत्री नेतृत्व स्थापित हुने विश्वास व्यक्त गरे । दैनिक १७ सय युवाहरु बिदेशिएकोमा चिन्ता व्यक्त गर्दै उनले अब स्वदेशमै रोजगारिको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।
‘राजनीति भनेको सेवा हो, पेसा होइन तसर्थ युवा संघको सदस्य बन्न कम्तिमा कुनै पेसा र व्यवसायसँग जोडिनुपर्छ,’ उनले भने ।
‘कांग्रेसलाई जय नेपाल भन्ने अधिकार छैन्’

अध्यक्ष पहारीले जय नेपाल भन्ने अधिकार नेपाली कांग्रेसलाई नभएको बताए । ‘जुन राजनीतिक दलले राष्ट्रियताको रक्षा गर्न सक्दैन उसले जय नेपालको नारा दिनु देखावटी मात्र हो,’ उनले भने ।
देशमा यत्रो परिवर्तन हुँदा पनि हाम्रो जीवनमा परिवर्तन नहुनुको जिम्मेवार शक्ति कांग्रेस नै भएको उनको भनाई छ । ‘आज भ्रष्टाचारका नाइकेलाई संस्थागत संरक्षण गर्ने काम कांग्रेसले गरेको छ,’ उनले भने– ‘देशमा मनपरी शासन गरी विधि विधानको खिल्ली उडाइरहेको छ ।’
‘प्रचण्ड सेना बिनाको सेनापति’
कार्यक्रममा अध्यक्ष पहारीले माओवादी बन मान्छे भएको र उसका दारा नंग्रा अझै नझरेको र मानवीय स्वभाव अझै उसमा नरहेको जिकिर गरे । ‘हिजो सत्तामा पुग्दा भैसी पुजा गर्नेहरुको कुनै राजनीतिक भविष्य छैन,’ उनले भने– ‘प्रचण्ड अहिले सेना बिनाको सेनापति बने ।’
‘मेची–महाकाली अभियानले मधेसवादी दल समाप्त हुन्छन्’
मधेशका ठेकेदार भुरे टाकुरे राजनीतिक दलको अस्तित्व जारी एमालेको मेची महाकाली अभियानपछि आफै समाप्त हुने पहारीको भनाई छ । एमालेको अभियान बिथोल्न खोजे पहाडमा टाउको ठोक्ने दुस्प्रयास नगर्न र आफ्नो टाउको जोगाउन उनले चेतावनी दिए । भारतीय टुरिष्टको रुपमा नेपाल प्रवेश गरेकाहरुको लामो राजनीतिक भविष्य नरहेको उनले बताए ।
‘आगामी निर्वाचनमा कांग्रेस हाफ, अरु दल क्रर्याप झर्याप हुन्छन’
आगामी निर्वाचनमा कांग्रेस हाफ र अरु दल क्र्याप झर्याप हुने बताउँदै उनले विगतमा पार्टी बिभाजनको कारण एमालेको बहुमत प्राप्त नभएको हुँदा अब आउने निर्वाचनमा एमाले बाहेकका पार्टीलाई लालटीन बालेर खोज्नुपर्ने बताए ।
कार्यक्रममा धादिङ एमाले अध्यक्ष भुमी त्रिपाठी, गुरु बुर्लाकोती, धन ब घले, युवा संघ केन्द्रिय सचिव क्रान्ति बुर्लाकोटी, सचिवालय सदस्य रमेश आचार्य लगायतले मन्तब्य राखेका थिए ।












प्रतिक्रिया