१३ कार्तिक २०८३, शुक्रबार

आंगिक क्याम्पसमा अनेरास्ववियु अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ फागुन । त्रिभुवन विश्वविद्यालयका २३ आंगिक क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको थप परिणाम आएको छ ।

उपत्यकाका सात र बाहिरका १६ आंगिक क्याम्पस स्ववियु निर्वाचन भएको थियो । २३ आंगिक क्याम्पसमध्ये एमालेनिकट अनेरास्ववियु नौवटामा विजयी भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अनेरास्ववियु पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, भोजपुर बहुमुखी क्याम्पस, वन क्याम्पस पोखरा, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस नेपालगन्ज, सुर्खेत शिक्षा क्याम्पस, महाराजगन्ज मेडिसिन क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस धरान गरी नौवटा आंगिक क्याम्पसमा विजयी भएको छ ।

नेविसंघ पोखरा नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ क्याम्पस, धवलागिरि बहुमुखी क्याम्पस, लमजुङ कृषि क्याम्पस, डडेल्धुरा क्याम्पस, डोटी क्याम्पस, जनप्रशासन क्याम्पस, वन विज्ञान क्याम्पस हेटौँडा गरी आठ आंगिक क्याम्पसमा विजयी भएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सानोठिमी शिक्षा क्याम्पस गरी तीनवटा आंगिक क्याम्पसमा विजयी भएको छ ।

भक्तपुर क्याम्पसमा नेक्राविसंघ र धरानस्थित महेन्द्र बहुमुखीमा संयुक्त विजयी भएको छ । मेची क्याम्पसमा मतगणना रोकिएको छ । देशभरका ६० वटा आंगिक क्याम्पसमध्ये ४७ वटामा विभिन्न विद्यार्थी संगठनको विरोध र तालाबन्दीका कारण स्ववियु निर्वाचन हुन सकेन ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस

धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका अनुभव पोखरेल स्ववियु सभापतिमा निर्वाचित भएका छन् । सचिवमा नेविसंघका प्रवीण काफ्ले र कोषाध्यक्षमा अनेरास्ववियुका मधुसूदन नेपाल विजयी भए ।

महेन्द्र बहुमुखी क्याम्पस

महेन्द्र बहुमुखी क्याम्पस धरानमा माओवादी केन्द्र र विप्लवनिकट अखिल क्रान्तिकारी, संघीय विद्यार्थी युनियन लिम्बुवान, खुम्बुवान विद्यार्थी मोर्चा, समाजवादी विद्यार्थी फोरमका संयुक्त उम्मेदवार सागर लिम्बू सभापतिमा निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा नेविसंघका दोर्ची शेर्पा र लक्ष्मी सम्भाहाम्फे विजयी भए ।

भोजपुर बहुमुखी क्याम्पस

भोजपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रकाशसिंह राई सभापतिमा निर्वाचित भएका छन् । सचिवमा नेविसंघका अनुज कार्की र कोषाध्यक्षमा अनेरास्ववियुकी नमुुना घिमिरे विजयी भए ।

पोखरा नर्सिङ क्याम्पस

पोखरा नर्सिङ क्याम्पसमा नेविसंघको प्याानल नै विजयी भएको छ । अनामिकाराज लक्ष्मी बस्नेत सभापतिमा वियजी भएकी छन् । उनले अनेरास्ववियुकी विष्णु देवकोटालाई पराजित गरिन् । सचिवमा वर्षा भुजेल र कोषाध्यक्षमा आरती जोशी विजयी भए ।

वीरगन्ज नर्सिङ क्याम्पस

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी प्रशंसा पाण्डे स्ववियु सभापतिमा निर्वाचित भएकी छन् । पाण्डेकी प्रतिद्वन्द्वी अनेरास्ववियुकी सुनिता यादवले ७० मत प्राप्त गरेकी छन् । सचिव र कोषाध्यक्षमा नेविसंघकै प्रसिद्धिका कार्की र सोनिका जैसवाल विजयी भए ।

बाग्लुङस्थित धवलागिरि क्याम्पसमा नेविसंघको प्यानलै निर्वाचित भएको छ । सभापतिमा मनबहादुर थापा, सचिवमा विष्णु पौडेल र कोषाध्यक्षमा सुस्मिता बोहोरा वियजी भएका छन् ।

पोखरास्थित वन क्याम्पस पोखरा र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुका विशाल अर्याल, सचिवमा सञ्जयराज तामाङ र कोषाध्यक्षमा प्रतिमा जिसी विजयी भए । सदस्यमा प्रदेश अधिकारी, साधना रानाभाट, सुस्मिता गौतम, भरत रेग्मी र सुरज भट्ट विजयी भएका छन् ।

संगठनका आ–आफ्नै दाबी

बुधबार भएको स्ववियु चुनावमा नेविसंघ, अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले कतिवटा क्याम्पसमा चुनाव जिते भन्ने आधिकारिक तथ्यांक सार्वजनिक हुन सकेको छैन । त्रिविले पनि यसबारे कुनै जानकारी गराएको छैन । तीनवटै संगठनको आ–आफ्नै दाबी छ । त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव गंगाबहादुर थापाले देशभरिका सम्बन्धन क्याम्पसमा विजयी भएका नाम निर्वाचन पदाधिकारीले केन्द्रमा नपठाएसम्म आधिकारिक नतिजा दिन नसक्ने बताए ।