१३ कार्तिक २०८३, शुक्रबार

सुन तस्करीका यी दुई मुख्य नाइके को–को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको छ ।

दुवैजना हाल दुबईमा छन् । सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दुबईको सो सुनपसलका अन्य सञ्चालक पनि तस्करीमा संलग्न हरेको स्रोत बताउँछ ।

तस्करीमा लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेलको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

लगानीकर्ताले सुन ओसारपसारमा आफन्तलाई नै प्रयोग गर्दै आएका थिए । हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार छन् ।

लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ ।

तस्करद्वारा विदेशबाटै प्रहरीलाई धम्की

साढे ३३ किलो सुन तस्करीमा फरार रहेका व्यक्तिहरूले विदेशबाटै प्रहरीलाई धम्क्याएका छन् ।

अनुसन्धान नगर्न भन्दै उनीहरूले फोन गरेर सिआइबीका प्रहरीलाई धम्क्याएका हुन् । इन्टरनेट कलमार्फत फोन गर्दै उनीहरूले सिआइबीका डिएसपी प्रवीण पोखरेल, वीरेन्द्र जोहारीलगायतलाई धम्क्याएका हुन् ।

सिआइबीले धम्कीको अडियोसमेत अनुसन्धान प्रतिवेदनमा राखेर बुझाएको छ ।