काठमाडौं, २० फागुन । मधेसी मोर्चाभित्र संविधान संशोधनको विषयलाई लिएर विवाद भएको छ । संशोधनविना निर्वाचनमा सहभागी नहुने मोर्चाको निर्णयविपरीत संघीय समाजवादी फोरमले निर्वाचन आयोगमा दल दर्ता गराएपछि मोर्चाभित्र विवाद उत्कर्षमा पुगेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संविधान संशोधन विधेयकमाथि संशोधन गर्न नमान्ने संघीय समाजवादीले स्थानीय तहको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएको मोर्चामा आबद्ध अन्य दलका नेताले आरोप लगाएका छन् । ‘संशोधनविना निर्वाचनमा सहभागी नहुने निर्णय गर्ने, तर निर्वाचन आयोगमा सुटुक्क दल दर्ता गर्नु आपत्तिजनक छ ।’ मोर्चाआबद्ध दलका एक नेताको टिप्पणी छ ।
मोर्चाभित्र तीन विवाद
१) संशोधन विधेयकमाथि संशोधन
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी संविधान संशोधनमाथि संशोधन राख्न नहुने भन्दै संशोधन दर्तामा सहभागी भएनन् । उनीहरूले मोर्चाले अस्वीकार गरेको संविधान संशोधनमाथि संशोधन दर्ता गराउनु गलत भएको टिप्पणी गरेका थिए । तर, मोर्चाका अन्य दलले संशोधनमाथि संशोधन दर्ता गराए । त्यही विषयलाई लिएर मोर्चामा विवाद छ ।
मोर्चामा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महामन्त्री केशव झाले फोरमले संशोधन दर्ता गराउन असहमति जनाएकाले सामान्य विवाद ल्याएको बताए । तर, फोरमका प्रमुख सचेत डा. शिवजी यादवले संशोधन दर्ता गर्ने नगर्ने कुरा पार्टीको आफ्नो मत भएको दाबी गरे ।
२) आयोगमा दल दर्ता
मोर्चाले स्थानीय तहको निर्वाचनमा सहभागी नहुने र निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मोर्चाआबद्ध अन्य दलले आयोगमा दल दर्ता गराएनन् । १८ फागुनभित्र दल दर्ता गराइसक्नुपर्ने थियो । तर, निर्णयविपरीत फोरमले आयोगमा दल दर्ता गराएको भन्दै मोर्चाका अन्य दल असन्तुष्ट छन् । मोर्चाआबद्ध दलका एक नेताको भनाइमा फोरमले मोर्चाभित्र द्वैध चरित्र देखाइरहेको छ । फोरमका प्रमुख सचेतक यादवले आयोगमा दल दर्ता गर्नु सामान्य कुरा भएकाले विवादको विषय बनाउन नहुने बताए ।
३) स्ववियु निर्वाचन
मोर्चाले स्वतन्त्र विद्यार्थी युनियनमा सहभागी नहुने निर्णय गरेको रामसपाका महामन्त्री झाको भनाइ छ । तर, फोरमनिकट विद्यार्थी संगठन भने पहाडी जिल्लाका क्याम्पसमा सहभागी भएको छ । फोरमको यस्तो निर्णयले मोर्चामा विवाद ल्याएको उनीहरूको तर्क छ ।
अब के गर्छ मोर्चा ?
मधेसी मोर्चासँग तीन विकल्प देखिएको छ । नेताहरू मोर्चासँग सरकारले घोषणा गरेको निर्वाचनमा जाने, संशोधन नभई निर्वाचन नजाने र आन्दोलनमा जाने गरी तीनवटा विकल्प रहेको बताउँछन् ।
‘अब हामीसँग निसर्त सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुने, दोस्रो आन्दोलनमा जाने र तेस्रो विकल्प संशोधनलाई राजनीतिक नारा बनाएर निर्वाचनमा जाने विकल्प हुन सक्छन्,’ झाले नयाँ पत्रिकासँग भने । तर, संशोधनविना कुनै पनि निर्वाचनमा मोर्चा सहभागी नहुने उनले बताए ।
झाका अनुसार केही दिनमै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छ । निर्वाचन मुठभेड निम्त्याउने काम मात्रै हुने भन्दै फोरम प्रमुख सचेतक शिवजी यादवले आन्दोलनबाहेकको विकल्प नभएको बताए ।












प्रतिक्रिया