१३ कार्तिक २०८३, शुक्रबार

‘निर्वाचनको बाध्यता बुझिदिनू’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनभित्रै र प्रतिपक्षी दलहरू संविधान संशोधनको पक्षमा नउभिएपछि यथास्थितिमा निर्वाचन गराउनै पर्ने आफ्नो बाध्यता रहेको भन्दै त्यसमा सहभागी भई सहयोग पुयाउन गरेको आग्रहलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

प्रमुख प्रतिपक्षी एमाले र सत्ता गठबन्धनकै राप्रपाले संशोधन विधेयकको विपक्षमा मतदान गर्ने स्पष्ट अडान लिएपछि यथास्थितिमै निर्वाचनमा जानुपर्ने आफ्नो बाध्यता बनेको अभिव्यक्ति बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा उनले दिएका थिए ।

तर, मोर्चाका नेता महन्थ ठाकुरले एउटा हातमा संविधान र अर्कोमा बन्दुक देखाएर हुन लागेको निर्वाचनमा आफूहरू सहभागी नहुने र त्यसको विपक्षमा जनपरिचालन गर्ने अडान लिएर प्रधानमन्त्रीको अनुरोध स्वीकार्य नभएको स्पष्ट सन्देश दिए । सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिनेबारे भने मोर्चाले स्पष्ट सन्देश दिएन ।

प्रधानमन्त्री दाहालले बैठकमा भनेका थिए, ‘संशोधन प्रस्ताव मधेसी मोर्चाको मात्र नभएर अहिलेको सरकारको पनि हो । चुनाव गराउने गरी म सरकारमा आएको पनि हुँ भन्ने मेरो बाध्यता बुझिदिनुहोस् । सरकारले संशोधनलाई आफ्नो प्रस्तावका रूपमा लिएको छ ।’

बैठकमा मधेसी मोर्चाका नेताले संशोधन गरी स्थानीय तहको संख्या र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने अडान राखेका थिए । उनीहरूले संशोधन नभए निर्वाचन सक्रिय बहिष्कार गर्ने चुनौती दिएका थिए ।

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल र मधेसी मोर्चाका सात दल सहभागी थिए ।

स्थानीय तहको निर्वाचन घोषणा गरी प्रधानमन्त्री स्वयंले मोर्चासँग दूरी बढाएको आरोप मोर्चा नेताहरूको थियो । प्रधानमन्त्री दाहालले मोर्चाको आरोपमा सत्यता भए पनि आफूले प्रस्तावको पक्षमा दुई तिहाइ पुर्‍याउन नसकेको स्विकार्दै भने, ‘तपाईंहरूलाई थाहै छ, एमाले पूरै विरोधमा र अहिले राप्रपासमेत विपक्षमा रहन पुगेको स्थितिमा कसरी संशोधन पारित गर्ने ?
तपाईंहरू नै विकल्प दिनुहोस् ।’

विधेयकलाई पारित गर्ने गरी लिएर जाने र अहिले समितिमा पठाएर राख्न सकिने सरकारको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै अहिल्यै पारित गर्नुपर्ने अडान मोर्चा नेताहरूले राखेका थिए ।