काठमाडौं, १७ फागुन । महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले सानाबालिकाहरूको अधिकारका लागि विद्यालय र अभिभावकहरू जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
सूर्योदय एजुकेसन फाउण्डेसनअन्तर्गतको एसएवी विद्यालयले सोमबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा अभिभावक दिवसका अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा मन्त्री खड्काले साढे दुई वर्षका साना बालबालिकाहरूलाई पढ्न पठाएर अभिभावक र विद्यालयले अन्याय गरेको बताए । ‘हामी धेरै स्वार्थी भइसकेका छौँ’, मन्त्री खड्काले भने, ‘साढे दुई वर्षको बालबालिकालाई पढ्न पठाएर प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा खोज्छौं । यो कति व्यवहारिक र जाय छ ?’
‘यूरोपतिर साढे दुई वर्षे बालबालिकालाई पढ्न पठाउँदा अभिभावकलाई कारबाही हुन्छ’, उनले भने, ‘हामीले पनि हाम्रो शिक्षा र आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु पर्छ ।’ मन्त्री खड्काले भने, ‘एसएलसीमा मात्रै गुणस्तरीय शिक्षा खोज्ने बानीलाई अभिभावक र विद्यालयहरूले पहिला त्याग्नु पर्छ । सुरुवातीदेखि नै बालबालिकाको मनस्थिति बुझेर अध्ययन गराउनु पर्छ ।’
प्रत्येक वर्ष झै एसएवी विद्यालयले अभिभावकहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थीले विभिन्न प्रस्तुति दिएका थिए ।
विगतका वर्षहरूमा फरक–फरक ढङ्गले अभिभावक दिवस मनाउने परम्परा भएतापनि तीन ठूला विद्यालय एकीकृत भई सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित ‘एसएबी पब्लिक स्कुल’को स्थापनासँगै ‘नानीबाबुहरू’को प्रस्तुति प्रस्फुटन गराउने उद्देश्यले अभिभावक दिवस मनाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कर्याक्रममा सूर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष एवम् प्याव्सनका निवर्तमान अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटित गराउन हरपल प्रयासरत रहने बताए । उनले भने, ‘विद्यार्थी लाई भविष्यका कर्णधार बनाउने कुरामा प्रतिवद्ध छौँ ।’
विद्यालय व्यस्थापन समितिका अध्यक्ष एवम् प्याव्सनका पूर्व अध्यक्ष भोजबहादुर शाहले विद्यालयमा समयसापेक्ष गुणस्तरीय शिक्षामा जोड दिँदै आएको दाबी गरे । उनले भने, ‘भोलिका लागि असल पुस्ता निर्माण गर्ने कुरामा विद्यालय क्रियाशील छ ।’
विद्यालय निर्देशक प्रेम वली ‘ढकलपुरे’ले आफ्ना कविता वाचन गरेका थिए । ‘मेरी बुहारी राम्री छे’ शीर्षकको व्याङ्ग्यात्मक कविताले हलमा हाँसो उठेको थियो ।

















प्रतिक्रिया