काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल सहभागी हुने सम्बन्धमा चाँडै नयाँ समझदारीपत्रमा हस्ताक्षर हुने बताएका छन् ।
नेपाल भ्रमणमा रहेको वान बेल्ट वान रोड (ओबीओआर) अन्तर्राष्ट्रिय प्लेटफर्मको ४१ सदस्यीय टोलीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले यो जानकारी दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दाहालले नेपालको भौतिक पूर्वाधार विकासमा ‘वान बेल्ट वान रोड’ अवधारणा निकै महत्वपूर्ण रहेको चिनियाँ टोलीसँग बताएका थिए ।
‘चीनसँग चाँडै नयाँ समझदारीपत्रमा हस्ताक्षर गरेर हामी वान बेल्ट वान रोड अवधारणाको अंग बन्न चाहन्छौं’, दाहालले भने । उनले विगतमा चीनसँग उक्त अवधारणामा नेपाल सहभागी हुने गरी सैद्धान्तिक खाका समझदारीपत्रमा हस्ताक्षर भइसकेको पनि स्मरण गरे ।
भेटका अवसरमा चिनियाँ टोलीले ‘वान बेल्ट वान रोड’ अवधारणामार्फत नेपाल र एसिया क्षेत्रमा पूर्वाधार निर्माण, कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताएको थियो ।
चीनले नेपाललाई एसियाली मुलुकमध्ये उच्च महŒवमा राखेको टोलीले बताएको थियो । परराष्ट्र मन्त्रालयले ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपाल सहभागी हुन तयार रहेको जनाउँदै दुई साताअघि चीनलाई पत्र लेखेको थियो ।
चीनले गत सेप्टेम्बरमा ओबीओआरमा नेपालको सहभागितासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका लागि आग्रह गर्दै पत्र लेखेको भए पनि सरकारले कुनै प्रतिक्रिया नदिँदा चीन रुष्ट बनेको थियो ।












प्रतिक्रिया