१३ कार्तिक २०८३, शुक्रबार

यस्ता छन् देउवामाथि लगाइएका आरोप, शशांक निवासमा पौडेल पक्षको बैठक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको छ ।

सभापति देउवाले पार्टीलाई एकल ढंगबाट सञ्चालन गरेको ठहर गर्दै पौडेल समूहले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

शनिबार बिहान महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा बसेको पौडेल पक्षधर नेताहरूको बैठकले केही दिनअघि पार्टीका तर्फबाट राजदूत सिफारिस गरिँदा पनि सभापति देउवाले मनोमानी गरेको ठहर गरेको छ ।

‘राजदूत सिफारिसमा सभापतिले एकलौटी गरे, कुनै छलफल नगरी आफ्नो प्राइभेट कम्पनी चलाए, पार्टीमा यस्तो स्वीकार्य हुन्न,’ बैठकको निष्कर्ष सुनाउँदै एक नेताले भने ।

बैठकले सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक तत्काल नबोलाए हस्ताक्षर संकलन अभियान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न माग गर्दै तत्काल पार्टी केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित रूपमा माग गर्ने निर्णय गरेको हो ।

‘पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्नुपर्छ, सभापतिको एकलौटी रहनुहुन्न,’ बैठकको निष्कर्ष छ ।

पार्टीको साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि पौडेल पक्ष सभापति देउवाप्रति निकै आक्रोशित भएको हो ।

पौडेल पक्षधर नेताहरूले राजदूत नियुक्ति तथा प्रहरी प्रमुखको नियुक्तिमा व्यक्तिगत स्वार्थ जोडेर सभापति देउवाले पार्टीको साख गिराएको निष्कर्षसमेत निकालेका छन् ।

बैठकमा सहभागी पौडेल पक्षधर केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति देउवाले पार्टीलाई एकलौटी ढंगबाट विधानविपरीत र सहमतिविपरीत सञ्चालन गरेकाले खबरदारी गर्न बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए ।

‘सरकार सञ्चालन ठीक ढंगबाट हुन सकेन, नियुक्तिहरू पार्टीकै साख गिर्ने गरी भयो, आर्थिक लेनदेनको कुरा सार्वजनिक रूपमै आए, सधैं यसैगरी टुलुटुलु हेरेर बस्न सकिँदैन, व्यक्तिगत स्वार्थले पार्टी चल्दैन,’ पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता केसीलेसँग भने, ‘यही निष्कर्षका आधारमा बैठकले सभापतिलाई तत्काल पार्टी केन्द्रीय समितिको बैठक बोलाउन लिखित रूपमा माग गर्ने निर्णय गरेको हो ।’

पार्टीका तर्फबाट राजदूतमा सिफारिस गरिएका आशा लामा, रमेश कोइराला र भीम उदास पार्टीको साधारण सदस्यसमेत नरहेकाले सो सम्बन्धमा पुनर्विचार गर्न पनि केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाउनुपर्ने अवस्था आएको दाबी उनीहरूले गरेका छन् ।

पार्टीका सदस्यसमेत नरहेका व्यक्तिहरूलाई राजदूत नियुक्ति गरेकोमा सिंगो पार्टी पंक्ति चिन्तित रहेको पौडेल पक्षधर अर्का नेता डा. रामशरण महतले जानकारी दिए ।

उनले पार्टी सभापति देउवा वैधानिक ढंगले पार्टीलाई अघि बढाउन तयार नै नदेखिएको आरोप पनि लगाए । पौडेल पक्षधर नेताहरूले आर्थिक प्रलोभनमा परेर राजदूत नियुक्तिको सिफारिस गरेको आरोप देउवालाई लगाएका छन् ।

पौडेल पक्षले पार्टीको भ्रातृ संगठनको निर्वाचनमा पनि देउवा पक्षले एकल निर्णय लिएको भन्दै आपत्ति जनाउँदै आएको छ । कांग्रेसभित्र पौडेल पक्षले संविधान संशोधन प्रस्ताव थाती राखेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान पनि राख्दै आएको छ ।

तर, देउवाले उनीहरूको कुनै कुरा सुनुवाइ नगरेपछि सभापतिविरुद्ध कडा रूपमा प्रस्तुत हुने निष्कर्षमा पौडेल पक्षधर पुगेको हो । पछिल्लो समय अत्यन्त संवेदनशील विषयमा समेत सभापति देउवाले आफूहरूसँग सामान्य परामर्शसमेत नगरेको पौडेल पक्षको भनाइ छ ।