काठमाडौँ, १४ फागुन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले संविधानले परिकल्पना गरे अनुसार देशलाई समृद्ध र सबैको साझा फुलबारी बनाउने अभियानमा बाधा पुर्याउन खोज्ने देशी विदेशी शक्ति सखाप हुने बताउनुभएको छ ।
राजधानीस्थित परशुराम दाहाल जन्मजयन्ती तथा शकुन्तला घिमिरेको ४५ औँ स्मृतिसभामा बोल्नुहुँदै उहाँले जनताको चेतनास्तर विगतको भन्दा माथि उठिसकेकाले नेपाललाई समृद्ध र साझा फुलबारी बनाउने अभियानमा बाधा पुर्याउने जोकोही सखाप हुने बताउनुभएको हो ।
वर्तमान संक्रमणकालीन परिस्थितीलाई विदेशी शक्तिले खेल्न खोजेको बताउनुहुँदै मन्त्री नायकले नेपालमाथि विदेशीले वर्षौदेखि अनेकौ बहानामा खेल्दै आएको समेत बताउनुभयो ।
‘नेपालको परिस्थितीलाई भड्काउने र त्यसबाट फाइदा लिन खोज्ने मनसायहरु बाहिरिँदै आएको छ । तर संविधानले कल्पना गरेअनुसार नेपाललाई समृद्ध र सबैको साझा फुलबारी बनाउन अभियानमा हामी छौँ । यसमा कुनै विदेशी र स्वदेशी शक्तिले खेल्न खोज्यो भने जनताको चेतना उठिसकेको छ, त्यो स्वतः सखाप हुन्छ ।’ उहाँले भन्नुभयो ।
उहाँले कुनै पनि गलत शक्तिको षड्यन्त्र नेपालमा नचल्ने समेत बताउनुभएको थियो ।
त्यसैगरी मन्त्री नायकले तोकिएकै मितिमा तीन तहको निर्वाचन गराउन सरकार लागि परेको बताउनुहुँदै पुँजीगत खर्चको अवस्था बढाउन निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।
नेपाल सबैको हो भन्ने अनुभूति गराउनका लागि सरकार लागिपरेको बताउनुहुँदै खास वर्गको मात्रै नेपाल होइन सबैको नेपाल बनाउका लागि सरकार प्रयासरत रहेको औल्याउनुभयो ।













प्रतिक्रिया