पोखरा, १४ फागुन । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले नेपाल पत्रकार महासङ्घ कास्की शाखाको दशौँ अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति, केन्द्रीय एवम् प्रदेश सभासदलाई आज यहाँ एक कार्यक्रमकाबीच बधाई तथा सम्मान गरेको छ ।
नेकपा एमाले पार्टी कार्यालय शान्ति वन बाटिकामा आयोजित कार्यक्रममा एमाले जिल्ला कमिटिका अध्यक्ष कृष्ण थापा र पार्टीको प्रदेश नं – ४ का प्रचार उपप्रमुख श्रीनाथ बरालले महासङ्घको नवनिर्वाचित टिमलाई टीका र खाँदाले सम्मान गर्नुभयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको दक्षता अभिवृद्धिका लागि तालिमलाई प्राथमिकता दिइने बताउँदै सबैको सहकार्यमा नवनिर्वाचित नेतृत्व अघि बढने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा निर्वाचन अधिकृत एवम् राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कोमलनाथ बरालले अझैपनि पत्रकारिता क्षेत्रमा थुप्रै समस्या रहेको बताउँदै नवनिर्वाचित समितिले ती समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले राष्ट्रियताको जगेर्ना, लोकतन्त्रको रक्षालगायतका विभिन्न विषयमा पत्रकार सक्रिय बन्नुपर्ने बताउनुभयो ।
सोही समारोहमा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार नारायण शाहीलाई पोखराका पत्रकारबाट सङ्कलित रु २४ हजार ५०० आर्थिक सहयोग नेपाल खेलकुद पत्रकार सङ्घ कास्कीका अध्यक्ष केशव पाठकले हस्तान्तरण गर्नुभयो । रासस












प्रतिक्रिया