१३ कार्तिक २०८३, शुक्रबार

एमालेका डेरावाल सांसदका दु:ख-सु:ख

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । समयसमयमा सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन्छ– राज्यले तलब सुविधा, भत्ता दिएकै छ, सांसदलाई मस्तीको जीवन छँदै छ, किन काम गर्नुपर्‍यो र ?

झन् केही समयअघि जब सांसदको सुविधा वृद्धिको प्रस्ताव संसद्मा चल्यो, त्यतिवेला यस्तो आवाज अझ चर्को सुनिँदै गयो । अर्कोतिर पछिल्लो समय विश्वका विभिन्न देशमा सांसद तथा मन्त्रीहरूले तलबस्वरूप महिनाको एक रुपैयाँ मात्र लिने समाचार पनि आएकै छन् । यसको पछिल्ला उदाहरण हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

यी सन्दर्भले गर्दा नेपाली नेतामाथि पनि बारम्बार आलोचना र व्यंग्य हुनु स्वाभाविकजस्तै लाग्छ । तर, के यही मात्रै हो त वास्तविकता ?
भनिन्छ, राजनीति गर्नेहरूलाई तीन कुराको ध्यान हुन्छ– पद, पैसा र सेवा ।

हुन पनि जो सांसद बनिसकेको छ, उसको चाहना मन्त्री बन्ने हुन्छ । जसले एउटा निर्वाचन क्षेत्रबाट जितिसकेको छ, उसले फेरि त्यहाँबाटै निर्वाचन जित्न सेवा गर्नुपर्छ भन्ने भावना राखिरहेको हुन्छ । तर, हाम्रा चाहना असीमित छन्, राज्यले गर्ने विकासको गतिलाई ‘कछुवा गति’ नाम दिँदा अन्यथा हुँदैन ।

त्यसैले पनि, जनजिब्रोमा झुन्डिएको छ– सांसद बनिसकेपछि त के ? राज्यको स्रोतसाधनमा पहुँच छ, ऐसआरामको जीवन छ ।

तर, सोचिएजस्तो यो ‘पिक्चर’ सबै सांसदको होइन । तिनैमध्ये एक हुन्, सुनसरी–२ बाट प्रत्यक्ष निर्वाचित एमाले सांसद रेवतीरमण भण्डारी ।
‘हाम्रा दुःख कम छैनन्,’ केही दिनअघि कुराकानी गर्न संसद भवनपरिसरमै बस्दानबस्दै भण्डारीले सुनाए, ‘हो, राज्यले सुविधा त दिएको छ, तर त्यो हात्तीको मुखमा जिराजस्तै हो ।’

भण्डारी यसमा किन पनि सही हुन् भने उनले राजनीतिबाहेक अरू कुनै ‘व्यवसाय’ गरेका छैनन् । आर्थिक उपार्जनका लागि सांसदको तलबभत्ताबाहेक अरू कुनै स्रोत उनको छैन ।

र, सुनसरीबाट निर्वाचन जितेर काठमाडौं आएका भण्डारीसँग काठमाडौंमा बस्नका लागि आफ्नै घर छैन, उनी डेरावाल हुन् ।
‘तैपनि महिनाको झन्डै ८० हजार पाउनुहुन्छ नि ?, जुन अत्यन्त धेरै हो,’ उनीसँग कुराकानीको सुरुमै भनियो ।

भण्डारीले राज्यकोषबाट पाउने पारिश्रमिक ब्रेक डाउन यस्तो हो– मासिक तलबस्वरूप ५५ हजार २ सय ३० रुपैयाँ, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १८ हजार, बिजुलीधाराको शीर्षकमा २ हजार । अनि यसमा थपिन्छ– संसद् बैठक चल्दा भत्ता १ हजार, यातायात सुविधा १ हजार र विशेष भत्ता १ हजार रुपैयाँ ।

मासिक आय यति पनि नभएका नेपालीका अगाडि सांसद भण्डारी यति कमाइलाई किन कम मान्दै छन् ?

‘हो, म मान्छु– हाम्रो आय अझै राम्रो छैन, दैनिक ज्यालादारी गरेर दुई छाक टार्न पनि मुस्किल हुने हाम्रो समाजमा यसलाई भव्य रकम मान्नुपर्छ ।’ उनी भन्छन्, ‘तर, हेर्नुस्, यही रकमबाट २५ प्रतिशत फेरि सरकारमै फिर्ता जान्छ ।’

अनि, त्यसपछि उनले घरखर्चलाई जोडे । र, थपे, कतिपय अवस्थामा साथीभाइलाई सहयोग गर्नुपर्ने हुन्छ । कार्यकर्तालाई सहयोग गर्नुपर्ने अवस्था पनि आउँछन् । अनि, अन्तिममा उनले भने, ‘यो काठमाडौंको महँगीमा जीवन धकेल्नुले पीडा मात्र दिन्छ । त्यसैले पनि सांसद जीवनको पीडाको अन्तर्य, भित्री कथाका अनेक पोया छन्, अनेकौँ पत्र छन् ।’

त्यसमाथि भण्डारी प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी समयसमयमा निर्वाचन क्षेत्र पनि पुगिरहेकै हुन्छन्, पुग्नु पनि पर्छ नत्र सम्पर्क नै टुट्ला भन्ने डर हुन्छ । त्यहाँ समस्यामा रहेका आममानिस उनीबाट सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । ‘सहयोग गर्नुपर्ने पनि हुन्छ,’ उनी भन्छन्, ‘यी सबै कारणले गर्दा संसद्बाट पाउने सुविधा नै सबथोक होइन । कहिलेकाहीँ त अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता पो थपिएको हुन्छ त !’

सांसद नभएको भए…

भण्डारी ५५ वर्षका पुगे । उनले राजनीतिमा ३२ वर्ष बिताए । नेपाल सरकारको अधिकृत, त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक, वकिललगायतका पेसा पनि अँगालेका थिए उनले कुनै वेला । तर, उनी यी सबै छाडेर राजनीतिमा ‘जम्प’ हाने । ‘राजनीति नशा हुँदो रहेछ, लागेपछि अन्यत्र मोडिनै मन नलाग्ने,’ उनी मुसुक्क हाँसे ।

‘नेपाल सरकारको अधिकृत भएर अहिले वरिष्ठ सहसचिव हुने मेरो अवसर थियो । मैले छाडेँ । त्रिभुवन विश्वविद्यालयमा सहायक प्राध्यापक थिएँ । यतिवेला सहप्राध्यापक बन्न सक्थेँ । काठमाडौंमा घर, गाडी हुन सक्थ्यो । नाम चलेका कलेजमा रोजेकै विषयमा छोराछोरीले पढ्न पाउँथे । ती सबै कुरा छाडेर मैले प्राइभेट वकालत नै गरेको भए पनि पूर्वाञ्चल क्षेत्रकै गनिएकै वकिल हुन्थेँ होला । दुई–चार लाख रुपैयाँ स्वभाविक रूपमा आम्दानी गर्न सक्थेँ ।’

विगतमा अंगालेका पेसाभन्दा अहिलेको उनको वास्तविकता फरक छ । राजनीतिलाई पेसा बनाउनुको साटो प्राध्यापन, वकालतदेखि निजामती कर्मचारीकै रूपमा जीवन बिताएको भए उनकै भनाइमा, यतिवेला अलिसान घर, गाडी सबै सुविधा हुने थियो । तर, यतिवेला उनीसँग न गाडी, घर छ, न निजी जीवन नै ।

‘२० वर्ष मैले मोटरसाइकल चढेँ । नयाँ मोटरसाइकल कहिल्यै चढेको छैन । पुरानै मात्र चढेको छु,’ आफ्नो दुखेसोको कथा खोतल्दै उनले थपे, ‘अरूलाई हेर्दा लाग्दो हो, सांसद छ, ऐसआरामको जीवन बिताएको छ, तर त्यस्तो केही छैन ।’

उनका छोराछोरी इच्छाअनुसार डाक्टर, कम्प्युटर साइन्स पढ्न चाहन्थे । तर, आफ्नै छोराछोरीको इच्छा पूरा गर्न आफूले नसकेको बताए । ‘मसँग त्यसका लागि सम्पत्ति भएन । त्यही कारण छोराछोरीको इच्छा पूरा गर्न सकिनँ । यी सबै आरोह– अवरोहलाई हेर्दा दुःखका शृंखला अनिगिन्ती छन् ।’

‘थोत्रो मोटरसाइकल चढ्थेँ सुरुमा । कहिले मोटरसाइकलमा पेट्रोलसम्म हाल्न पैसा हुँदैनथ्यो,’ भण्डारीले थपे, ‘त्यो अवस्थाबाट आएको मान्छे हुँ म । छोराछोरीलाई स्कुल जाँदा पकेटमा खाजा खर्च दिन नसक्ने अवस्था गुजारेर आएको छु । यो लामो संर्घषमा मैले यो पाटो छाडेर अर्काे पाटो लागेको भए विलासी र सुविधायुक्त जीवन सहजै बिताउन सक्थेँ ।’

संसदमा आउँदा खर्च कति ?

सांसदहरू प्रायः आफ्नो चुनावी खर्चको बारेमा बोल्दैनन् । एउटा सांसदले कति खर्च गरेर नयाँ बानेश्वरस्थित संसद् भवनसम्म आइपुगेका होलान् ? अझ प्रत्यक्ष चुनाव जितेकाको चुनावी खर्च सुन्दैमा जिब्रो टोक्नपर्ने अवस्था देखिन्छ ।

आममान्छेको बुझाई छ, करोडाँै खर्चेर सांसद जितेर आएका छन् । चुनाव लड्दाको ऋण अझै कतिका थाप्लामा बाँकी नै छन् ।
आफ्नो पीडाभित्रको वास्तविकता धेरै सांसद ओकल्ने हिम्मत गर्दैनन् । तर, भण्डारीले आफ्नो चुनावी खर्च जोहो गर्दाका अनुभव पनि नयाँ पत्रिकासँग साटे ।

‘मैले चुनाव लड्दा मेरो निजी खर्च एक रुपैयाँ पनि गर्नुपरेन । उम्मेदवार भएदेखि नै जनतामा फलानोले जित्छ भन्ने एउटा म्यासेज थियो । इटहरीको बजार ठूलो व्यापारिक केन्द्र बनिरहेकाले त्यहाँ हुनेखानेहरू प्रशस्तै छन् । बाहिरबाट आएर बसेका लाहुरे पनि छन् । एक–दुई सय साथीहरूले ५–१० हजारका दरले सहयोग दिए । केही विदेशमा रहेकाले पनि पठाइदिए । २० लाख जति खर्चमा मेरो चुनाव सकियो ।’

चुनावमा भन्दा सांसद बनेर काठमाडौं आउँदा भने उनको थाप्लोमा ऋण रहेको उनले खुलाए । अहिले उनीसँग दुई लाखको ऋण छ  । ‘सांसद बनेर काठमाडौं आएपछि सुरुमा मलाई अलिकति ऋण लाग्यो । काठमाडौंमा छुट्टै कोठा, घरभाडा, भाँडाकुँडा, ओढ्नेओछ्याउने सबै नयाँ किन्नुपर्ने अवस्था आयो । दराज, कुर्सी चाहियो । ढेड लाख रुपैयाँ सुरुमा खर्च भयो, ‘उनले थपे, ‘ चुनाव जितेर काठमाडौं आउँदा सरकारले जम्मा १५ हजार रुपैयाँ दिएको थियो । खर्च दुई लाख भयो । त्यसको ऋणचाहिँ मैले अझै तिर्न बाँकी छ ।’

सांसद बनेर काठमाडौं आएपछि उनको डेरा अनुभव कस्तो रह्यो त ?

सुरुमै डेराभाडा अत्यन्त महँगो भएको उनको दुखेसो थियो । ‘गौशालाभन्दा माथि गौरीघाटमा डेरा खोजेर बसेँ । महँगो भाडामा परेँ । भाडा महँगो पर्ने, आवत–जावतलाई पनि असहज हुने भएपछि केही सस्तो र बानेश्वर, सिंहदरबार आवत–जावतलाई पनि सहज होस् भनेर अहिले पुरानो बानेश्वर सरेको छु,’ भण्डारी भन्छन् ।

अहिले उनीसँग छोराछोरी पनि बस्छन् । उनकी श्रीमती सुनसरीमै छिन् । डेराबाट सिंहदरबार, बानेश्वर आउँदा भण्डारी सार्वजनिक यातायात प्रयोग गर्छन् । ‘प्रायः टेम्पो चढिन्छ । पुरानो बानेश्वरबाट टेम्पो चढेपछि अनामनगरको हनुमानस्थानसम्म एउटै टेम्पोमा आइन्छ । बानेश्वर जान पनि सजिलो हुन्छ,’ उनले भने, ‘बानेश्वर सिंहदरबारभन्दा अन्यत्र जानुपर्दा भने बस, माइक्रोलगायतका सार्वजनिक यातायात नै प्रयोग गर्छु ।’
उनको डेरामा कार्यकर्ताको आवत–जावतको चाप भने खासै हुँदैन ।

‘म प्रायः बाहिर नै बोलाउँछु,’ उनी भन्छन्, ‘सिंहदरबार, बानेश्वर एरियामै भेटघाट बढी हुन्छ ।’

‘त्यस्ता भेटमा खासै ठूलो एमाउन्ट खर्च हुँदैन,’ उनी भन्छन्, ‘सामान्य चियाखर्च म आफैँ गर्छु ।’

त्यसो हो भने उल्लेखनीय खर्च केमा हुन्छ त भण्डारीको ?

‘जिल्ला भ्रमणमा,’ उनी भन्छन्, ‘अनि कहिलेकाहीँ मेरा नजिकका साथीभाइ तथा कार्यकर्ता बिरामी हुँदा पनि सकेको सहयोग गर्छु ।’

मी यस्ता पनि भयौँ उस्ता पनि भयौँ

सांसदलाई हेर्ने नजर पछिल्ला दिनमा त्यति सकारात्मक बन्न सकेको छैन । सांसद हुन, पद र प्रतिष्ठामा पुग्नका लागि जे पनि गर्न तयार हुनेका कारण जनतामा सकारात्मक सन्देश देखिँदैन ।

त्यो नुहुनुको पछाडि केही निश्चित कारण रहेको ठान्छन्, भण्डारी ।

‘मुलुकको राज्य प्रणाली सुशानमैत्री छैन, व्यापक भष्टाचार छ । जनताले नजिकबाट पनि उनीहरूलाई नै देख्ने हुन् । जनता आफूले चाहेका पूर्वाधार, विकास सुविधाहरू व्यवस्थित, सरल र सहज ढंगले नपाउँदा त्यसको प्रहार सांसदप्रति गर्ने गरेका छन् । यसले पनि नकारात्मक सन्देश प्रवाह भइरहेको छ,’ भण्डारी भन्छन्, ‘हामी सांसदको क्षमता, योग्यता, कार्यसम्पादन गर्ने कुरामा पनि समस्या त छन् । हाम्रो संसद्को संख्या असाध्यै ठूलो छ । जनतामा सकारात्मक सन्देश नजानुको कारण यो पनि मूल हो ।’

‘हामी संसद्मा दुःख गर्नेहरू पनि छौँ, पार्टी आन्दोलनमा दुःखै नगर्ने पनि छन् । यस्ता पनि भयौँ, उस्ता पनि भयौँ । त्यस्तो देख्दा अलिक मन पोल्छ ।’ उनले सुनाए, ‘हामी तल्लो वर्गकै हौँ कि भन्नेजस्तो फिल हुन्छ । उहाँहरूले कमाउनुभयो, हामीले कमाउन सकेनौँ, यद्यपि आज समान हैसियतमा छौँ । तर, पार्टी र पार्टीका नेताले हेर्ने, बुझ्ने र स्मरण गर्ने सवालमा विवेक पनि पुग्दैन कि भन्ने कहिलेकाहीँ लाग्छ ।’

यतिका दुःख हुँदाहुँदै पनि संसद्मा भण्डारीले प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । संसद्को नियमावली बनाउने समिति, उपसमिति दुवैमा थिए । सानो कोर गुप्रमा पनि उनले नियमावली बनाउन उत्तिकै भूमिका निर्वाह गरेका थिए । ‘त्यो विशेष भूमिका कसैले दिएको भन्दा पनि ममा योग्यता, क्षमता भएकाले साथीहरूले जिम्मेवारी निर्वाह गर्न पठाउनुभयो, त्यहीअनुसार गएर काम गरेको हुँ,’ उनले थपे ।

संसद्मा उठ्ने र उठाइने विषयलाई उनले अलिक छिट्टै बुझ्छन् । उनी अहिले संसदको विधायन समिति, देवानी कार्यविधि संहिताको संयोजक, समन्वय उपसमितिको सदस्य, केही नेपाल संशोधन समितिको सदस्य, महाअभियोग सिफारिस समितिको सदस्यसम्मको जिम्मेवारीमा छन् ।
‘ल्याङल्याङे तरिका, एकदमै गोलमोटल र सुस्त तरिकाले काम गरेको मलाई मन पदैन,’ आफ्नो आनीबानी पनि उनले सुनाए ।

उनलाई संसद्मा आफ्नै निजी विधेयक पेस गर्न मन छ । सार्वजनिक महत्वका प्रस्तावमा छलफल गराउन मन छ । तर, उनले अहिलेसम्म आफ्नै निजी विधेयक पेस गर्न सकेका भने छैनन् । आफूले संसद्मा आएर गर्न नसकेको एउटै काम उनलाई त्यही लागेको छ । त्यसको पनि उनी तयारीमा छन् ।

‘जुनसुकै वेला पनि म निजी विधेयक संसद्मा पेस गर्न सक्छु, त्यसको तयारीमा छु,’ उनले भने, ‘सार्वजनकि महत्वको प्रस्ताव संसद्मा छलफल गराउनुपर्छ भन्ने लागेको छ । यी दुई काम गर्न सकेको छैन ।’