काठमाडौं, १४ फागुन । शुक्रबार फरक–फरक कार्यक्रम र फरक–फरक विषय । एउटा कार्यक्रमका वक्ता भारतीय राजदूत रणजित राय थिए भने अर्कोमा चिनियाँ राजदूत यु होङ । फरक समय र सन्दर्भका कार्यक्रममा दुवै राजदूतले नेपाल सरकारलाई एउटै कुरा सुझाए, ‘असन्तुष्ट दलसँग वार्ता गर ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होङले होटेल अन्नपूर्णमा नेपाल–चीन हिमालय मैत्री समाजको कार्यक्रममा ‘असहमति राखेका दलहरूलाई साथमा लिएर अघि बढ्न’ आग्रह गरिन् । ‘असहमति राखिरहेका दलहरूसँग वार्ता गरेर उनीहरूलाई पनि साथमा लिएर नेपालले सामाजिक समृद्धि हासिल गर्नेछ भन्नेमा चीन विश्वस्त छ,’ एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता डा। रामशरण महतसहित हिमाली जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूमाझ राजदूत होङले भनिन् । १० मिनेट लामो चिनियाँ भाषामा लेखेर ल्याएको सम्बोधनमा राजदूत होङले निर्वाचनबारे केही उल्लेख गरिनन् ।
त्यसअघि शुक्रबार दिउँसो रिपोर्टर्स क्लबमा भारतीय राजदूत रणजित रायले सबैलाई साथ लिएर निर्वाचनमा अघि जान सुझाब दिए । ‘संविधान जारी हुने वेलामा पनि हामीले सबैलाई मिलाएर जान भनेका थियौँ,’ दुई वर्षअघिको प्रसंग उल्लेख गर्दै रायले भने, ‘अहिले पनि हाम्रो कुरा त्यही छ कि सबैलाई साथमा लिएर दलहरू अघि जाऊन् । त्यसले लोकतन्त्र र स्थायित्व सुनिश्चित गर्छ । यसका लागि सरकारले गर्ने सबै प्रयासलाई भारत समर्थन र सहयोग गर्छ ।’ सैद्धान्तिक रूपमा भारतले निर्वाचनको विरोध नगर्ने उनको भनाइ थियो ।
‘हाम्रो अडान एउटै छ,’ कार्यकाल सकेर १८ फागुनमा नयाँदिल्ली फर्किन लागेका रायले भने, ‘लोकतन्त्र सुदृढ पार्ने सबै प्रयासलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्रका हिसाबले हामी समर्थन गर्छौँ, तर सबैलाई साथमा लिएर अघि बढ्दा नेपालमा स्थायित्व हुन्छ ।’ सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि भारतका तर्फबाट आएको यो पहिलो प्रतिक्रिया हो । ‘निर्वाचन नियमित रूपमा हुनुपर्छ, त्यसले लोकतत्र सुदृढ गर्छ, यसमा कुनै द्विविधा छैन,’ रायले भने ।
उत्तरी क्षेत्रमा विशेष चासो
चिनियाँ राजदूतले नेपालको उत्तरी क्षेत्रको विकासमा चीनले चासो दिएको बताइन् । हिमाली क्षेत्रमा १० वटा विद्यालय निर्माण चाँडै सुरु हुने उनको भनाइ थियो । सिन्धुपाल्चोक र रसुवामा अस्पताल निर्माण गर्ने योजना पनि उनले सुनाइन् । उनले तिब्बत हुँदै नेपालको उत्तरी क्षेत्रमा खाद्यान्नलगायतका सामान ढुवानी भइरहेको पनि बताइन् । हुम्लामा हिल्सा पुल निर्माणमा सहयोग गरेको र थप सहयोग गर्ने पनि उनको भनाइ थियो । संखुवासभा र मुस्ताङमा सौर्य ऊर्जाका लागि सहयोग गरेको, रसुवामा पुस्तकालय निर्माण गर्न लागेको उनले बताइन् । तराईका चितवनमा औषधि र अन्य जिल्लामा कृषि र व्यापारमा सहयोग गरिरहेको राजदूतको भनाइ थियो ।
भारतको चासो कोसी उच्च बाँध
भारतीय राजदूत रायले आफ्नो कार्यकालमा विगतमा रोकिएका हुलाकी सडक, जलविद्युत् परियोजना र पूर्वाधार विकास अघि बढेको प्रसंग उल्लेख गर्दै कोसी उच्च बाँध बनाउने चाहना पनि अघि सारे । बाँध बाँधिएको पानीमा चतरादेखि कोलकातासम्म पानीजहाज चल्ने र यसले नेपालको समुद्रसँग सम्पर्क जोडिने पनि उनको भनाइ थियो ।
‘अब हामी कोसी उच्च बाँध र कमला डाइभर्सन अघि बढाउन चाहन्छौँ, जसबाट नेपालमा सिँचाइको सुविधा होस्, भारतको बिहारमा बाढी नियन्त्रण होस्,’ रायले भने, ‘हामीले भारतको कोलकाता र बनारसबीचमा पानीजहाज चलाएका छौँ, यसैगरी कोसी उच्च बाँधपछि सुनसरीको चतरादेखि कोलकातासम्म पानीजहाज चल्नेछ । यसबाट नेपाल र भारत दुवैलाई रणनीतिक लाभ हासिल हुनेछ ।’
पञ्चेश्वर अघि बढ्छ
रायले आगामी जुनसम्म पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनमा सहमति हुने बताए । ‘उक्त परियोजनाले नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका जनताका जीवनमा क्रान्ति ल्याउनेवाला छ,’ रायले भने, ‘पञ्चेश्वरभन्दा पहिला महाकालीमा पुल निर्माण हुनेछ, जसबाट पञ्चेश्वरमा विद्युत् उत्पादन हुने टर्बाइनलगायतका सामान लगिनेछ ।’
‘तातोपानी नाका खुल्छ’
चिनियाँ राजदूत होङले सिन्धुपाल्चोकको तातोपानी नाका चाँडै सञ्चालनमा आउने बताइन् । ‘म केही दिनअघि दूतावासका कर्मचारीसहित तातोपानी नाका भ्रमणमा गएकी थिएँ, भूकम्पका कारण बन्द भएको नाका चाँडै सुचारु हुनेछ भन्ने मलाई विश्वास छ,’ राजदूत होङले भनिन्, ‘यसमा दुवै पक्ष निरन्तर सक्रिय हुनुपर्छ ।’ उनले नेपाल र चीनबीच ३० परम्परागत व्यापारिक नाका रहेको र यसमार्फत दुवै देशले व्यापार प्रवद्र्धन गर्नुपर्ने बताइन् । ‘नेपालको सिमानानजिकै हामीले राजमार्ग र सुक्खा बन्दरगाहहरू बनाइरहेका छौँ,’ उनले भनिन् ।












प्रतिक्रिया