१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सुरक्षामा चुनौती बढेपछि सेना चनाखो, प्रधानसेनापति गरे यस्तो संकेत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशको अवस्था अनिश्चित, जटिल र तरल अवस्था रहेकाले राष्ट्रिय सुरक्षामा चुनौती बढेको बताएका छन् । सोमबार सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालित तालिम समापनमा प्रधानसेनापतिले सुरक्षा चुनौतीको तह बढेको उल्लेख गरेका हुन् । उनले जातीय पहिचान र धर्मका नाममा भएको राजनीतिले सुरक्षा चुनौती थपेको उल्लेख गरे ।

‘संविधान कार्यान्वयन र व्याख्यामा अझै चुनौती बाँकी छन्, देशको संघीय सेटअप आफैँमा चुनौतीपूर्ण छ,’ प्रधानसेनापतिले वरिष्ठतम सैनिक अधिकारी र विज्ञमाझ भने, ‘यस्तो क्रिटिकल ग्यापको अवस्थामा विखण्डनका नाममा भएका गतिविधिले राष्ट्रिय सुरक्षामा चुनौती थपेको छ । धार्मिक सद्भाव हाम्रो गर्विलो सम्पदा हो, यसलाई कायम राख्नु जरुरी छ ।’

प्रधानसेनापतिले संविधानमा प्राप्त अधिकारअनुसार सार्वभौमसत्ता, अखण्डता, मुलुकको एकताका लागि सेना प्रतिबद्ध भएर काम गरिरहेको र गरिरहने बताए । उनले परम्परागत र अन्य विविध खालका चुनौती बढ्दै गएकाले तिनलाई सामना गर्न आधुनिक प्रविधिको प्रयोगलाई अवसरको रूपमा लिन सकिने उल्लेख गरे । ‘वर्तमान सुरक्षा चुनौतीलाई निस्तेज पार्न हाम्रो सोच एवं कार्य प्रकृतिलाई समय सापेक्ष बदल्दै सुरक्षा फौज थप योग्य, क्षमतावान, गतिशील एवं क्रियाशील हुनु जरुरी छ,’ प्रधानसेनापति क्षेत्रीले भने ।

तालिम समापनमा सेनाका ४२ अधिकृत, सशस्त्र, नेपाल प्रहरी, अनुसन्धान विभागका चारजना, रक्षा मन्त्रालयका एक अधिकृत दीक्षित भएका थिए । यसैगरी, चीन, बंगलादेश, भारत, अमेरिका, पाकिस्तान, मलेसिया र श्रीलंकाका एक–एक सैनिक अधिकृत पनि सोमबारै दीक्षित भए ।

नयाँ पत्रिका दैनिकमा समाचार छ ।