काठमाडौं, १० फागुन । बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको छ ।
पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र वातावरणीय हिसाबले मुलुककै उदाहरणीय सडक मानिएको थियो । तर, सञ्चालनमा आएको छोटो समयमै सडक भासिएपछि सो राजमार्गको भविष्यप्रति पनि प्रश्नचिह्न खडा भएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
१९ वर्ष लगाएर बनाइएको १ सय ५८ किलोमिटर लामो बीपी राजमार्ग निर्माणमा जापान सहयोग नियोग (जाइका) ले अनुदान सहयोग गरेको थियो । करिब २५ अर्ब रूपैयाँ लगाएर निर्माण गरिएको सो सडक जाइकाले २०७१ सालको अन्त्यमा मात्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
तर दुर्भाग्य,एक लेन सडक दुई वर्षमै भत्कियो । सो सडकखण्डलाई गोरखा भूकम्पले पनि असर पु-याएको प्राविधिकहरूको दाबी छ ।आइतबार राति करिब ३० मिटर सडक सुनकोसी नदीमा खसेको छ । सिन्धुलीको शीतलपाटी–बेनीघाट–खाल्टे खण्डको राजमार्ग सुनकोसीमा खसेको हो ।यद्यपि, वैकल्पिक बाटो प्रयोग गरी सोमबार साँझदेखि राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
वातावरणलाई असर नगर्ने गरी अधिकांश स्थानमा अग्ला पर्खाल लगाएर देख्नलाई मात्र आकर्षक सडक निर्माण गरेपछि नेपालका सडक इन्जिनियरहरूले गुनासोसमेत गरेका थिए । उनीहरूको निचोड थियो, न सडक बलियो छ न त यसलाई विस्तार गरी दुई लेन बनाउन सकिन्छ । राजमार्ग साना गाडी र दुईपांग्रे चलाउनका लागि उपयुक्त सडकमा ठूला सवारी सञ्चालनमा आएपछि समस्या उत्पन्न भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागले उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण भएपछि विभागका तत्कालीन प्राविधिक निर्देशक शरद अधिकारीको नेतृत्वको प्राविधिक टोलीले अध्ययन गरेको थियो । टोलीले स्थलगत अध्ययन गरी तत्कालीन विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले बाटो कमजोर र सानो भएको भन्दै दिउँसो मात्र बस चलाउन दिनुपर्ने सुझाव दिएको थियो ।
यस्तै, प्रतिवेदनले धेरै घुम्ती भएकाले ४० भन्दा बढीको गतिमा हा“क्न नमिल्ने र मालवाहक सवारीसाधन गुडाउन नहुने बताएको छ । प्रतिवेदनका आधारमा तत्कालीन महानिर्देशक बुर्लाकोटीले ठूला सवारीसाधन गुडाउन रोक लगाएका थिए । बुर्लाकाटीलाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले २०७२ भदौमा हटाई महानिर्देशकमा चन्द्रमान श्रेष्ठ आएपछि प्रतिवेदनविपरीत ठूला सवारीसाधनलाई अनुमति दिए ।
‘लोड भएका ठूलो गाडी चल्नु र बाटोमा लगाएका अग्ला पर्खालका कारण भासिएको प्रारम्भिक रूपमा देखिन्छ,’ पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रालका पूर्वसचिव तुलसी सिटौलाले भने, ‘तल नदी भएका कारण पनि केही प्रभाव परेको हुन सक्छ । स्थलगत अध्ययनपछि मात्र थप कुरा भन्न सकिन्छ ।’प्राविधिक प्रतिवेदनविपरीत व्यवसायीको दबाबमा जथाभावी बीपी राजमार्गमा ठूला गाडी चलाउन दिएपछि दुर्घटनामा बढिरहको थियो ।
सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि पूर्वी तराई र काठमाडौंसँगको छोटो दूरीको आगमन अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम सिन्धुलीमाडीबाट प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की प्रहरी उपरीक्षक उमाशंकर पन्जियार पत्रकारलगायतको टोली बिहान सो स्थानमा पुगेका थिए ।
रातिबाटै रोकिएका सवारीसाधनका कारण त्यस स्थान आसपासमा चाप बढेपछि स्थानीय प्रशासनले खुरकोट तथा खाल्टेमा नै सवारी रोकेको थियो । सुनकोसी नदीको माथिपट्टिको पहाडमा २२ मिटर अग्लो पर्खाल लगाएर निर्माण गरिएको बाटो भूकम्पपछि केही भाग धसिएको थियो ।
दिउसोको समयमा साना अर्थात चारपांग्रे र ६ पांग्रे सवारीसाधन मात्र सञ्चालन हुने गरेको भए पनि रातको ८ बजेदेखि बिहान ५ बजेसम्म ठूला भारवाहन सवारीसाधन सञ्चालन हुँदै आएका थिए । सडकमा १० टनभन्दा ठूला गाडीहरू गुडेका थिए ।
रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुंगालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हि“डेका सवारीसाधन बीच बाटोमा नै थन्किएर बसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चन्द्रफाजु श्रेष्ठले बताए ।
भत्किएको बीपी राजमार्गको शीतलपाटी सडकखण्ड बन्न केही महिना लाग्न सक्ने अनुमान प्राविधिकहरूले गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए । उनले द्रुतगतिमा काम सुरु भएमा करिव ६ महिना लाग्ने बताए ।
राजमार्ग निर्माणका क्रममा खोलिएको वैकल्पिक बाटो अर्थात ड्राइभर्सनबाट हाललाई सवारी आवागमन गराउँदा पनि वर्षाद सुरु भएपछि थप समस्या आउने उनले बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अति आवश्यक परे खुर्कोटबाट मन्थली दोलखा हुदै काठमाडौं जान आउन सकिने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
भूकम्पले धसिएको सडकको केही भाग यति चा“डै भत्किएला भन्ने अनुमानै नगरेको बीपी राजमार्गका इन्जिनियर रमेश आचार्यले बताए । २०१६ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले शिलान्यास गरेको सडक निर्माणको काम राजा महेन्द्रले २०१७ सालमा सरकार अपदस्थ गरे पनि सडक निर्माण रोकियो । जाइकाको सहयोगमा सन १९९६ मा सुरु भई दुई वर्षअघि निर्माण सम्पन्न भएको हो ।












प्रतिक्रिया