१३ कार्तिक २०८३, शुक्रबार

उपत्यकामा इन्धनको अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल आयल निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियावली २०७३ लाई लिएर ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिले गरेको सांकेतिक आन्दोलनका कारण मुलुकभर इन्धनको चर्को हाहाकार भएको छ ।

पेट्रोल पम्पमा इन्धन अभाव हुँदा उपभोक्ताहरु लामो लाइन बसेर इन्धन हाल्न विवश छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

सो समितिले नयाँ ढुवानी नियमावलीलाई लिएर शुक्रबार नेपालको सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन (टोकन स्ट्राइक) थालेको छ । यसको प्रभाव शनिबारदेखि नै परिसकेको छ ।

अधिकाँश पम्पहरु इन्धन अभावमा बन्द भएका छन् भने भएका पम्पमा पनि लामो लाइन देख्न थालिएको छ ।

समितिले नयाँ नियमावली ‘आफूहरु’ को हितमा नभएको भन्दै अनिश्चितकालका लागि इन्धनको आपूर्ति ठप्प पार्ने चेतावनीसमेत दिएको छ ।

उसले वार्ता र सम्वादको माध्यमबाट निगमले १४ फागुनभित्र मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए १५ गतेदेखि भारत र नेपालको डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनीसमेत दिएको छ ।

निगमले गत पुसदेखि सो नियमावली कार्यान्वयनमा ल्याएको हो । विनियावलीमा आफूहरुलाई बेरोजगार बनाउने व्यवस्था गरिएको भन्दै समितिले मजदुरको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने खालका प्रावधान विनियावलीबाट तत्काल हटाउनुपर्ने माग अघि सारेको छ ।

निगमले कार्यान्वयनमा ल्याएको विनियावलीमा एक जनाले पाँच वटाभन्दा कम संख्यामा इन्धन ट्यांकर राख्न नपाउने व्यवस्था गरिएको छ । पुरानो विनियावलीमा एक जनाले एक ट्यांकर राख्न पाउने व्यवस्था छ ।