काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानको प्रस्तावनामै सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थासहितको लोकतन्त्रको नीति राख्ने भएको छ । पार्टीको जारी एकता महाधिवेशनको बन्द सत्रबाट यस्तो व्यवस्था पारित भएको हो ।
उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई पारित गर्दै बन्दसत्रले सो नीति अख्तियारी गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
पारित प्रस्तावमा एक अध्यक्षसहित १ सय ६३ सदस्यीय केन्द्रीय समिति गठन हुने उल्लेख छ । सोही प्रस्तावअन्तर्गत अध्यक्षको नेतृत्वमा केन्द्रीय सदस्यमध्येबाट २७ जनाको पदाधिकारी छनोट गर्नका लागि सिफारिस गरिने उल्लेख छ ।
पारित विधानअनुसार अब राप्रपामा पाँच उपाध्यक्ष, चार महामन्त्री, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, दुई प्रवक्ता, दुई सहायक प्रवक्ता, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष गरी २७ जना पदाधिकारी रहने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार आर्थिक कार्यपत्र तथा राजनीतिक कार्यपत्रमाथिको छलफल भने आइतबार पनि जारी रहनेछ । सहभागीहरूलाई धारणा राख्न तीन–तीन मिनेटको समय दिइएको छ । जसमा सहभागीहरूले आफ्नो धारणा राखिरहेका छन् ।
यसैबीच, निर्वाचन समितिले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । जसअनुसार आइतबार १० बजेदेखि १२ बजेसम्म उमेदवारी दर्ता तोकिएको छ । मतदान भने ९ गते बिहान ७ बजेदेखि ५ बजेसम्म हुने बताइएको छ । अध्यक्ष पदको उमेदवारीका लागि राप्रपाको महाधिवेशनमा ५० हजार शुल्क तोकिएको छ ।
यसअघि शनिबार पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरे । ती दुवै प्रस्तावमाथि आइतबार छलफल हुनेछ ।












प्रतिक्रिया