काठमाडौं, ७ फागुन । निजी फर्म, कम्पनी र संस्थामा काम गर्नेहरुले तलब नपाएको गुनासो सामान्य नै हो । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका कम्प्युटर अपरेटरले नै तलब नपाएको गुनासो गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रहेको मन्त्रीको निजी सचिवालयमा कम्प्युटर अप्रेटरको काम गर्दै आएका रविन्द्र राज जोशीले २०७३ साल भदौ २ गतेदेखि तलब नपाएको गुनासो गरेका हुन् ।
उनले मन्त्रीको निजी सचिवालयमा रही दिन, रात, साँझ, विहान नभनी काम गरे पनि पारिश्रमिक पाउन नसकेको व्यहोराको पत्र मन्त्रीलाई लेखेका छन् ।
‘सचिवालयमा रहँदा दिनरात नभनी निजी सचिव, स्वकीय सचिव, शाखा अधिकृतको आदेशानुसार चिठी, पत्र र योजनाहरुको यन्ट्रिलगायत विभिन्न मन्त्रालयमा मन्त्रीज्यूबाट तोकआदेश भएका पत्रहरु तयार गर्ने लगायतका कामहरु गर्दै आइरहेको’ भन्दै जोशीले आफूले भदौ २ गतेदेखि पुस २० गतेसम्म काम गर्दा पनि सो समयको पारिश्रमिक नपाएको पत्र मन्त्रीलाई लेखेका हुन् । तर मन्त्रीले यसबारे कुनै वास्ता नगरेको उनको भनाइ छ ।
उनले पुस २९ गते लेखेको पत्र मन्त्रालयको निजी सचिवालयले माघ १३ गते १६२१ नम्बरमा दर्ता समेत गरेको छ । पटक पटक मौखिक रुपमा गुनासो गरे पनि सुनुवाई नभएपछि कम्प्युटर अपरेटर जोशीले लिखित निवेदन गरेका हुन् । निवेदन दिएको दुई महिना पुग्दा पनि सुनुवाई नभएको गुनासो जोशीको छ ।












प्रतिक्रिया