
काठमाडौं, ७ फागुन । उपत्यकामा प्रहरीले पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमएस डिटेल तथा लोकेसन हेर्न थालेको छ ।
महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौं जिल्ला अदालतबाट आदेश लिएर विभिन्न सातवटा नम्बरको कल डिटेल नेपाल टेलिकमबाट मगाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थालिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।
सर्वोच्चले अदालतको आदेश लिएर मात्र कल डिटेल हेर्न आदेश दिएपछि प्रहरीले यस्तो प्रक्रिया सुरु गरेको हो । गोपनीयताको कारण देखाउँदै अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्चको यो आदेश अपराध अनुसन्धानका लागि धेरै जटिल हुने प्रहरी अधिकारीहरू बताउँछन् ।
बिहीबार व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणमा परेको खबर बेलुका साढे ८ बजे प्रहरीले पाएको थियो । तत्काल कल डिटेल हेरेर अनुसन्धान गर्नुपर्ने थियो ।
तर, अदालतले शुक्रबार दिउँसो मात्र कल डिटेल हेर्न अनुमति दियो । ‘त्यतिवेलासम्म अपहरणकारीहरू सजिलै भागे,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘अदालतको आदेशपछि अब अपराधीलाई सहज भएको छ, हामी अनुसन्धान नै गर्न नसक्ने अवस्थामा पुगेका छौँ ।’ अपराध अनुसन्धानमा कल डिटेल नै प्रहरीको प्रमुख आधार हुँदै आएको छ । तर, भनेको समयमा कल डिटेल नआउँदा अपराधी भागिसक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।












प्रतिक्रिया