१९ कार्तिक २०८३, बिहिबार

क्याम्पसमा डिग्री संचालनार्थ महायज्ञको पाँच दिनमा ६० लाख दान संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), ५ फागुन । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा दानबीरहरुको ओइरो लागेको छ ।

महायज्ञको पाँच दिनमा ६० लाख भन्दा बढी दान संकलन भएको आर्थिक समिति संयोजक भवनराज पौडेलले जानकारी दिनुभयो । चौथो दिनसम्म करीब २२ लाख संकलन भएको महायज्ञमा पाँचौ दिन दानबीरहरुको ओइरो नै लाग्यो । पाँचौं दिन मात्र विभिन्न दानबीरहरुबाट ३८ लाखभन्दा बढी दान सहयोग भएको आर्थिक संयोजक पौडेलले बताउनुभयो ।

महायज्ञको पाँचौ दिनसम्म सबैभन्दा बढी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले दान गर्नुभएको छ । अधिकारीले ११ लाख ५१ हजार रकम दान गरेको आर्थिक व्यवस्थापन समिति सदस्य जगतबहादुर जिसीले बताउनुभयो । यसैगरी हालसम्मकै दोस्रो स्थानमा सुरही चिराई खोलाका ठेकेदारबाट ५ लाख ७ हजार ७सय ७७ रुपैयाँ दान सहयोग भएको छ । तेस्रो स्थानमा शिवराज नगरपालिका १, वनकट्टा (नयाँबस्ती) का बाबुराम भन्ने दुर्गादत्त भण्डारीले ५ लाख दान गर्नुभएको छ । शिवराज नगरपालिका ९ निवासी भवनराज पौडेलले ३ लाख ६ हजार ९सय ९९ रुपैयाँ दान सहयोग गरेको आयोजकले जनाएको छ । यस्तै शिवराज नगरपालिका १, शिवपुरका जगतबहादुर जिसीबाट १ लाख ११ हजार १सय ११ रुपैयाँ, शिवराज नपा ९ का महेन्द्र सिंह जिसीबाट १ लाख ५ हजार ५सय ५५ रुपैयाँ, पदम थापाबाट १ लाख १ हजार, शिवराज नगरपालिका ९ बस्ने कमला अधिकारीबाट १ लाख १ सय ५ रुपैयाँ, शिवराज नपा १ बस्ने विष्ण उपाध्यायबाट ७७ हजार दान प्राप्त भएको आयोजकले जानकारी दिएका छन् ।

यसैगरी क्याम्पसको आजीवन सदस्यका लागि ६ हजार १ सय रुपैयाँ दान गर्नेमा पुष्पराज अधिकारी, कृष्णकुमार चौधरी, सरोज शर्मा, गोविन्द सिंह गहतराज, जितेन्द्र कुमार मिश्र, विष्णुमाया के.सी, पुरन बहादुर केसी, माया थापा, रामबहादुर के.सी., शेरबहादुर रोकामगर, गोपाल भनिने अनन्त कुमार खडका, चेतनशिल सामुदायिक वन उपभोक्ता समूह मैनार, एकीकृत सुरही सामुदायिक वन शिवपुर, मनकामना सामुदायिक वन करहिया लगायत डेढ दर्जनभन्दा बढीले दान गरेको आयोजकले जनाएको छ । यस्तै क्याम्पसको साधारण सदस्यका लागि दुई सयभन्दा बढीले १५ हजार १सय भन्दा बढी रकम दान सहयोग गरेको बताइएको छ । भने गाउँ गाउँबाट धान, चामल सहयोग गर्नेको ओइरो लागेको छ ।

महायज्ञको अर्को विशेषता ५सय रुपैयाँ सहयोग गरी एक हजार एक सय ८ ओटा सिक्का प्राप्त गरी १हजार १सय ८ ओटा शालिग्रामलाई चढाएर पुजन तथा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । शालिग्राम पुजन र दर्शन गर्नेको समेत भीडभाड बढेको बताइएको छ ।

स्थानीय तहमै डिग्रीसम्मको कक्षा संचालन गरी यस क्षेत्रका सर्वसाधारण सबैका लागि शैक्षिक सुविधा प्रदान गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले महायज्ञ संचालन गरिएको छ । श्रीमद्भागवतमा बालव्यास नारायणप्रसाद न्यौपानेले कथा बाचन गरेका छन् । माघ २९ गतेदेखि संचालन गरिएको महायज्ञ फागुन ७ गतेसम्म चल्ने महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।