बागलुङ, ५ फागुन । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले विकासको अभियानलाई आम जनताका बीचमा लैजानका लागि सञ्चार क्षेत्रको शसक्त भूमिका हुनु पर्नेमा जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठौ अधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रीय सभासद, प्रदेश सभासदहरुको स्वागतमा एमाले जिल्ला प्रचार विभागले आयोजना गरेको वधाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
राजनीतिक परिवर्तनका लागि सञ्ञ्चार क्षेत्रको भूमिका जसरी महत्वपूर्ण रहदै आएको छ, त्यसैगरी समृद्ध मुलुक निर्माणका लागि पनि सञ्चार क्षेत्रको भूमिका सबल, सक्षम र प्रभावकारी हुनु पर्ने उहाँको भनाइ छ । सञ्चार क्षेत्रले आम शोषित पीडित जनताका आवाजलाई सार्वजनिक गरेर राज्य सञ्चालकहरुलाई सही खालको नीति निर्माण गर्न र कार्यान्वयन गर्न दवाव सिर्जना गर्नु पर्ने उहाँले बताउनुभयो । राज्य सञ्चालनको जिम्मेवारी लिनेदेखि सबै सरोकारावालाहरुले सञ्चार क्षेत्रलाई विकासको साझेदारका रुपमा ग्रहण गर्न उहाँले आग्रह गर्नु भयो ।
नव निर्वाचित महासांघको नेतृत्वलाई वधाई ज्ञापन गर्दै नेतृ केसीले पत्रकारहरुको क्षमता विकास, सञ्चार संस्थाको संस्थागत विकास र महासंघको भवन निर्माणका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरु, पत्रकार लगायत सरोकारवालाहरुबीच समन्वय हुनु पर्नेमा जोड दिनुभएको थियो ।
महासंघका निर्वाचित जिल्ला कार्यसमितिको तर्फबाट बोल्दै अध्यक्ष दिल शिरीषले पत्रकारहरुको पेशागत हकहितसंगै समाज रुपान्तरणको अभियानमा पत्रकारहरुको भूमिका बढाउनका लागि महासांघले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि सिलान्यास समेत भइसकेको अवस्थामा आर्थिक सहयोग गर्न र पत्रकारहरुको क्षमता विकासका लागि योगदान गर्न राजनीतिक दल लगायत सबै सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रम एमाले प्रचार विभागका प्रमुख धनबहादुर परियारको अध्यक्षता, जिल्ला उपाध्यक्ष कृष्ण पाठकको धन्यवाद, सचिव लालबहादुर थापाको स्वागत र उपसचिव विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।
नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य र सभासदहरुलाई एमालेका नेताहरुलाई फूलमाला र खादा लगाएर वधाई ज्ञापन गरेका थिए ।
फागुन ३ गते सम्पन्न नेपाल पत्रकार महासंघको छैठौ अधिवेशनबाट दिल शिरिषको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति, १८ सदस्यीय केन्द्रीय सभासद र २४ सदस्यीय प्रदेश सभासद सर्वसम्मत चयन भएको थियो ।













प्रतिक्रिया