काठमाडौं, ५ फागुन । एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचन मिति घोषणाबारे चलिरहेको छलफल निष्कर्षतिर पुगेको बताएका छन् ।
प्रमुख दलको छलफलमा आफूले जेठको पहिलो सातभित्र निर्वाचन गर्ने गरी मिति घोषणा भएमा एमालेले समर्थन गर्ने र संसद् अवरोध पनि नगर्ने स्पष्ट पारेको पार्टी पोलिटब्युरो बैठकमा ओलीले जानकारी गराएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पार्टी मुख्यालयमा बुधबारबाट सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका हुन् । मंगलबार र बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको त्रिपक्षीय छलफलबारे ओलीले बैठकमा जानकारी गराएका थिए ।
‘प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरूसँग बिहीबार अन्तिम छलफल गरेपछि चुनावको मिति घोषणा गर्ने बताएका छन्,’ बैठकमा ओलीले भने, ‘प्रचण्डजीले संविधान संशोधन प्रस्ताव पनि छलफलका लागि लैजानुपर्ने हुन्छ, तपाईंहरूले पास गर्न दिन्नौँ भन्दा मिति घोषणा भए पनि उनीहरू (मोर्चा) भड्किए भने के गर्ने भनेर सुझाब मागेका छन् ।’ आफूले संशोधन प्रस्तावमा पार्टीको समर्थन नरहने स्पष्ट पारेको ओलीको भनाइ थियो ।
देउवा चुनावको पक्षमा अस्पष्ट
एमाले अध्यक्ष ओलीले निर्वाचन मिति घोषणा गर्नेबारे प्रधानमन्त्री प्रचण्ड ‘कन्भिन्स’ हुँदै गए पनि कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला व्यवहार आलटाल गरेर पर धकेल्नेतर्फ उद्धृत देखिएको आरोप लगाएका छन् । ‘कांग्रेस प्रहरी प्रमुख चयनलाई पनि राजनीतीकरण गर्दै चेन अफ कमान्ड खलबल्याउनेतर्फ लाग्यो, चुनावका विषयमा पनि देउवाजी त्यति इमानदार देखिएका छैनन्,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘स्थानीय चुनाव धकेलेर कात्तिक पुर्याउने, बाँकी चुनाव माघ कटाएर अर्को चैत–वैशाखतिर गर्ने मनस्थितिमा पुगेजस्तो देखिँदै छ ।’
१० पेजको राजनीतिक प्रतिवेदन
एमाले अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भूमिका, मेची–महाकाली अभियानमा केन्द्रित रहेर १० पृष्ठको राजीतिक प्रतिवेदन पोलिटब्युरोमा पेस गरेका छन् । प्रतिवेदनमाथि बिहीबारबाट छलफल हुने सचिवालय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सचिव योगेश भट्टराईले आगामी १४ फागुनमा हुने स्ववियुको निर्वाचन र पार्टीको भूमिकाबारे धारणा राखेका थिए ।












प्रतिक्रिया